गोडैतामा सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन हस्तान्तरण

Byसदाम हुसैन

२०८२ भाद्र ६, शुक्रवार २०८२ भाद्र ६, शुक्रवार २०८२ भाद्र ६, शुक्रवार

सर्लाही, ०६ भदाै। गोडैता नगरपालिकाले सुविधा सम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्र भवन प्राप्त गरेको छ । शुक्रबार गोडैता नगरपालिका–९ बकैनियामा सम्पन्न कार्यक्रममा ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना, आर्थिक करिडोर बर्दिवासले निर्माण सम्पन्न उक्त भवन नगरप्रमुख देवेन्द्र कुमार यादवलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।

करिब २ करोड २५ लाख रुपियाँ लागतमा निर्माण भएको भवनमा अपाङ्गमैत्री संरचना, माटो परीक्षण प्रयोगशाला, भेटेरीनरी ल्याब, तालिम हललगायत आधुनिक सेवाका लागि आवश्यक पूर्वाधारहरू समेटिएका छन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख यादवले भवनलाई बहुउपयोगी रूपमा प्रयोग गरिने बताउँदै यसबाट कृषकहरूलाई प्रत्यक्ष लाभ पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “सुविधा सम्पन्न प्रयोगशाला सञ्चालनमा आएसँगै किसानलाई बाहिर उपचार वा परीक्षणका लागि धाउन नपर्ने छ ।

यो भवन सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण साबित हुनेछ । ”सो अवसरमा वडा नं. ९ का वडाध्यक्ष दसै सहनीले भवनले कृषि तथा पशुपालन क्षेत्रमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै आधुनिक प्रविधि प्रयोगमार्फत उत्पादन वृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो ।

वडा नं. ८ का वडाध्यक्ष बिनेस दासले कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको गोडैतामा यो भवनले किसानको जीवनस्तर र आयवृद्धिमा योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।

आयोजना प्रमुख रविन्द्र महतोले भवनमा तालिम हल, प्रयोगशाला र भेटेरीनरी ल्याबलगायत सम्पूर्ण सुविधा समेटिएको जानकारी दिनुभयो । गत वर्ष असारमा नगरप्रमुख यादवले शिलान्यास गर्नुभएको यो भवन करिब एक वर्षमै निर्माण सम्पन्न गरी विजय सिर्जना भगत ग्रुप जेभीले हस्तान्तरण गरेको हो ।

भवन हस्तान्तरण कार्यक्रममा सहभागी स्थानीय कृषकहरूले नयाँ संरचनाले कृषि क्षेत्रमा ठोस परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै नगरपालिकाप्रति आभार प्रकट गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *