सर्लाही, २४ भदाै । हाल देशभर फैलिरहेको ‘जेनजी आन्दोलन’का क्रममा थुप्रै युवा तथा विद्यार्थीहरूले अमूल्य ज्यान गुमाउनु परेको दु:खद घटनाले मलंगवा नगरपालिकालाई समेत स्तब्ध बनाएको छ। यो गहिरो पीडादायी घटनालाई मध्यनजर गर्दै नगरपालिकाले आज गतेदेखि २६ गतेसम्म नगर क्षेत्रभित्रका सबै सामुदायिक, संस्थागत, निजी विद्यालय तथा मदरसाहरू बन्द गर्ने निर्णय लिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै शोकाकुल परिस्थितिमा दिवंगत आत्माहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । साथै, आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयले पनि हाललाई सबै परीक्षा कार्यक्रम स्थगित गरेको सन्दर्भमा देशको असामान्य परिस्थितिलाई दृष्टिगत गर्दै विद्यालयहरू बन्द गर्नु परेको नगरपालिका पक्षले जनाएको छ।
नगरप्रमुखको तर्फबाट जारी सूचनामा भनिएको छ, “सम्पूर्ण अभिभावक, विद्यार्थी, शिक्षक, नागरिक समाज तथा सरोकारवाला सबै पक्षहरूले शान्त, संयमित र सहज वातावरण निर्माणमा सहयोग पुर्याउनु हुन मलंगवा नगरपालिकाले हार्दिक अपिल गर्दछ ।”
यस निर्णयसँगै नगरभित्र शैक्षिक गतिविधि केही दिनका लागि स्थगित हुने भएको छ ।
