सर्लाही, २४ असाेज । प्रधानमन्त्री सुशीला कार्कीले भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्ने प्रतिबद्धता जनाएकी छिन् ।
बिहीबार जेनजी आन्दोलनको एक महिना पुगेको अवसरमा एक भिडियो सन्देश जारी गर्दै उनले सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न पनि अपिल गरेकी छिन् ।
‘भविष्यको नेपाल निर्माणमा जेनजीलाई अर्थपूर्ण रुपमा सहभागी गराउन नयाँ संयन्त्र स्थापना गर्नेछौं । आजका दिन म सबैलाई संयम राख्न र हिंसाको चक्र रोक्न अपिल गर्न चाहन्छु,’ उनले भनेकी छिन्, ‘यो दु:खद घटनालाई नयाँ नेपाल निर्माणको जग बनाउन हामीहरूलाई आपसी सद्भाव र राष्ट्रिय एकता आवश्यक छ ।’
उनले आफू नेतृत्वको सरकार युवाहरूले चाहेको परिवर्तनबारे जानकार रहेको र प्रतिबद्ध पनि रहेको बताएकी छिन् ।
‘हामी सबैले आफ्नो कमजोरी र गल्तीलाई विनम्रतापूर्वक स्वीकार गर्नुपर्छ । हामी युवा पुस्ताले चाहेको परिवर्तनप्रति प्रतिबद्ध छौं । र नयाँ मार्गमा अघि बढिरहेका छौं । यो माग आगामी निर्वाचनपछि पनि निरन्तर कायम रहनुपर्छ,’ प्रधानमन्त्री कार्कीले भनेकी छिन् ।
