सर्लाही, १७ कार्त्तिक । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालयले कैलालीमा हालसम्म चार सय क्विन्टल धान खरिद गरेको छ ।

गत बुधवारदेखि धान खरिद सुरु गरेको कम्पनीले सुरुका दुई दिनमा दुई सय २८ क्विन्टल र त्यसपछिका दुई दिनमा एक सय ७२ क्विन्टल धान खरिद गरेको हो ।

खाद्य कम्पनीले जिल्लाको मोहनपुर, गौरीगङ्गा, टीकापुर, सती,भजनी र जोशीपुरमा खरिद केन्द्र तोकेर धान खरिद सुरु गरेको छ । हाल मोहनपुरबाट मात्रै धान खरिद भइरहेको र दुई तीन दिनभित्र छ वटै खरिद केन्द्रबाट धान खरिद सुरु गर्ने तयारी भइरहेको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिनुभयो ।

सरकारले निर्धारण गरेको धानको न्यूनतम समर्थन मूल्यमा किसानबाट धान खरिद भइरहेको तथा जिल्लामा मोटा धान मात्रै खरिद गरिरहेको उहाँले बताउनुभयो ।

सरकारले यस वर्ष मोटा धानको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल ३ हजार ४ सय ६३ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ । जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल निर्धारण गरिएको छ ।

एक किसानबाट बढीमा ५० क्विन्टल धान खरिद गरिरहेको कार्यालय प्रमुख थापाले बताउनुभयो । कम्पनीको मापदण्ड अनुसारको धान मात्रै खरिद गरिरहेको तथा किसानले धान बिक्रीका लागि परिचय खुल्ने कागजात, किसान प्रमाणित सिफारिस, बैङ्क मार्फत रकम भुक्तानी गरिने भएकाले चेकको प्रतिलिपि ल्याउनु पर्ने उहाँले बताउनुभयो ।

खाद्यले धान खरिद सुरु गरेसँगै किसानलाई ठुलो राहत भएको छ । यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य भएका थिए । गत वर्ष जिल्लामा कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकोमा ३४ हजार ५ सय क्विन्टल मात्रै धान खरिद भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *