सर्लाही, २० कार्त्तिक । निकोलस भुसाललाई पक्राउ गरेकोप्रति हामी नेपालका संयोजक सुदन गुरुङले असन्तुष्टि जनाएका छन्। 

उनले गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले नेता महेश बस्नेतलाई छाडेर निकोलस भुषाललाई मात्र पक्राउ गरेको भन्दै सामाजिक सञ्जालमा त्यस्तो असन्तुष्टि पोखेका हुन् । 

अभियन्ता भावना राउतको फेसबुक स्टाटस शेयर गर्दै उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘निकोलस भुषाल र महेश बस्नेतको अभिव्यक्तिमा आखिर फरक के देख्नुभयो, गृहमन्त्रीज्यू ?

अनि किन निकोलस मात्रै पक्राउ परे? कि शक्तिशालीलाई नछुने ओली सरकारकै पारामा ढल्किनु भएको हो? बन्द कोठामा प्रश्न गर्दा गर्दा थाकेर आएको अभिव्यक्ति हो यो । लाग्छ, आन्दोलन हार्दैछ ।’

प्रहरीमाथि ड्रोन खसाल्ने अभिव्यक्ति दिएका निकोलश भुसाल यही कात्तिक १८ गते प्रहरीले गोरखाबाट भुसाललाई पक्राउ गरेको थियो । उनलाई थप दिन हिरासतमा राखेर अनुसन्धान अघि बढाउन जिल्ला प्रशासन कार्यालय काठमाडौँले बुधबार अनुमति दिएको थियो ।  

उनले केही दिनअघि ‘आफूले चाहेमा तत्काल ड्रोन आक्रमण गरी मार्‍यौँ भने औकात छैन बाँच्न सक्ने तेरो, भरखर एउटा ड्रोन छोडेर पुलिस हेडक्वार्टर सक्काइदिएँ भने औकात छैन बाँच्ने तेरो, एउटा सानो मिसाइल पनि यहीँमाथिबाट रेडी छ( छाडिदिएँ भने बालुवाटार एक सेकेन्डमा ध्वस्त हुन्छ औकात छैन बाँच्न तेरो। डरायो भन्ने नसोच फेरि’ भन्दै अराजक अभिव्यक्ति दिएका थिए । 

अर्घाखाँची मालारानी-२  का ३२ वर्षीय भुसालले मानिसहरूलाई भड्काउने, उक्साउने, अफवाह फैलाउने, सार्वजनिक शान्तिमा खलल पुर्‍याउनेसमेतका कार्य गरेका प्रहरीको आरोप छ । 

भुसालविरुद्ध यसअघि जिल्ला प्रहरी कार्यालय कास्कीबाट विद्युतीय कारोबार ऐनअन्तर्गतको कसुरमा पनि मुद्दा दर्ता भएको थियो ।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *