सर्लाही, २० कार्त्तिक । बेलायतका लागि नेपाली राजदूत चन्द्रकुमार घिमिरे स्वदेश फर्किएका छन् ।  फर्किन अघि उनले सामाजिक सञ्जालमा कार्यालयको एक तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘बेलायत, अलविदा! तपाईंले देखाउनु भएको निःशर्त र असीमित स्नेह तथा सम्मान प्रति म धेरै आभारी छु ! इतिहासले मलाई मूल्याङ्कन गर्नेछ ।’

राजदूत फर्किएपछि दूतावासका उपनियोग प्रमुख विपिन दुवाडीले कार्यवाहक राजदूतको जिम्मेवारी सम्हाल्ने भएका छन् । दुवाडीले यसअघि पनि सन् २०२४ सेप्टेम्बरदेखि २०२५ जनवरीसम्म कार्यवाहक राजदूतको भूमिका निर्वाह गरिसकेका छन् ।

हालै परराष्ट्र मन्त्रालयले फिर्ता बोलाइएका ११ देशका राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा उपस्थित हुन दिएको पछिल्लो निर्देशनसँगै  घिमिरे नेपाल फर्किएका हुन् ।

घिमिरेले सन् २०२५ को जनवरी १७ मा लन्डनस्थित नेपाली दूतावासमा २३औँ नेपाली राजदूतका रूपमा आफ्नो पदभार ग्रहण गरेका थिए । परराष्ट्र मन्त्रालयले सोमबार जारी गरेको पत्रमा कार्तिक १७ गतेको निर्णय अनुसार प्रधानमन्त्री तथा परराष्ट्रमन्त्रीस्तरीय निर्देशनका आधारमा राजदूतहरूलाई अर्को व्यवस्था नभएसम्म मन्त्रालयमा रही कामकाज गर्न नेपाल बोलाइएको उल्लेख छ ।

नेपाल फर्किने तयारी भइरहेका बेला सर्वोच्च अदालतले ११ देशका राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरे पनि त्यसको भोलिपल्टै सरकारले पुनः राजदूतहरूलाई तीन दिनभित्र मन्त्रालयमा हाजिर हुन निर्देशन दिएको थियो ।

मन्त्रालयले चीन, जर्मनी, मलेसिया, इजरायल, कतार, रुस, साउदी अरब, स्पेन, बेलायत, संयुक्त राज्य अमेरिका र जापानमा कार्यरत ११ देशका राजदूतहरूलाई राजनीतिक नियुक्ति भन्दै फिर्ता बोलाएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *