सर्लाही, २१ कार्तिक । सर्लाहीको कबिलासी नगरपालिका–६ मदनपुर नजिक विहिबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
विहिबार साँझ करिब ६ बजेर १५ मिनेट जाँदा आलु र प्याज लोड गरिएको ज १ त ६२०३ नम्बरको ट्र्याक्टर र सोही दिशातर्फ जाँदै गरेको बा ४७ प ९८९२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा चन्द्रनगर गाउँपालिका–५ महोनपुरका ४२ वर्षीय सुरेन्द्र ठाकुर लोहार गम्भीर घाइते भएका थिए ।
उपचारका लागि तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले साँझ ७ बजेर ५५ मिनेटमा उनलाई मृत घोषणा गरेका हुन् ।
मोटरसाइकलमा पछाडि सवार बरहथवा नगरपालिका–७ का १९ वर्षीय राजु ठाकुर लोहार घाइते भएका छन् । उनको निधार, दाहिने हातको कुहिनो र तिघ्रामा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिपुर, चक्रघट्टा, जिल्ला प्रहरी कार्यालय सर्लाही र अस्थायी प्रहरी पोष्ट हेम्पुर पचगछियाबाट संयुक्त रूपमा प्रहरी टोली खटिएको थियो ।
दुर्घटनापछि ट्र्याक्टर चालक फरार रहेका छन् भने ठक्कर दिने ट्र्याक्टर नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
