सर्लाही, १० मंसिर । एमसीए नेपालले न्यु बुटवल सबस्टेसन र १८ किलोमिटर प्रसारण लाइन निर्माण कार्य सुरु गरेको छ ।
बुधबार नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवलमा आयोजित एक समारोहबीच निर्माण कार्यको शुभारम्भ गरिएको हो ।
एमसीसी नेपाल कम्प्याक्ट कार्यक्रम अन्तर्गत निर्माण गर्न लागिएका यी पूर्वाधारले नेपालको विद्युतीय सञ्जाललाई सशक्तीकरण गर्नुका साथै नेपाल र भारतबीच महत्त्वपूर्ण ऊर्जा व्यापार अन्तरसम्बन्ध स्थापना गर्नेछ ।
कार्यक्रममा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल, नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत डिन आर थम्प्सन, एमसीसीका आवासीय राष्ट्र निर्देशक डायन फ्रान्सिस्को, एमसीए नेपालका कार्यकारी निर्देशक खड्ग बहादुर विष्ट तथा स्थानीय जनप्रतिनिधि उपस्थित भए ।
कार्यक्रममा अर्थमन्त्री खनालले स्वच्छ ऊर्जामा पहुँचको विस्तार, क्षेत्रीय ऊर्जा व्यापारमा अभिवृद्धि तथा दीर्घकालीन आर्थिक वृद्धि हासिल गर्ने राष्ट्रिय लक्ष्यमा सहयोग दिने सरकारको प्रतिबद्धता यस आयोजनामा प्रतिविम्बित भएको बताए।
‘थप भरपर्दो ऊर्जा प्रणाली निर्माण गर्ने कार्यमा एक प्रतिबद्ध साझेदारका रूपमा नेपालसँग उभिन पाउँदा संयुक्त राज्य अमेरिकालाई गर्व लागेको छ,’ नेपालका लागि अमेरिकाका राजदूत थम्प्सनले भने, ‘प्रसारण लाइन तथा सबस्टेसन जस्ता आयोजनाले घरपरिवार तथा व्यवसायमा बत्ती बाल्न मात्र सघाउने नभई यस क्षेत्रभरि नै व्यापार, वृद्धि तथा प्रगतिका लागि अवसरहरू पनि सिर्जना गर्छ ।’
