सर्लाही, १० मंसिर । सर्लाहीको लालबन्दी नगरपालिका–७ डुमडुमे मन्दिर क्षेत्रमा मंगलबार राति करिब साढे ७ बजे एक अन्दाजी ४०/४५ वर्षको पुरुषले आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । नाम, ठेगाना खुल्न नसकेको ती पुरुषले पेट्रोल छर्किएर आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

प्रत्यक्षदर्शी रोशन बोहोराका अनुसार आगो लागेको देख्नेबित्तिकै नजिकै रहेका स्थानीयले पानी र बालुवा प्रयोग गरी आगो नियन्त्रणमा ल्याएका थिए । आगलागीले पुरुषको शरीरको अधिकांश बाहिरी भाग जलेको अवस्थामा भेटिएको बोहोराले बताए ।

गम्भीर घाइते पुरुषलाई लालबन्दी सिटी केयर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि एम्बुलेन्समार्फत प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको लालबन्दी प्रहरी प्रमुख तथा इन्स्पेक्टर वीरेन्द्रसिंह जोहारीले जानकारी दिए ।

इन्स्पेक्टर जोहारीका अनुसार घाइते पुरुषको पहिचान खुलाउन प्रयास जारी छ । उनको मोबाइल फोनमा ‘सूर्य पोखरेल’ नामको फेसबुक आइडी लगइन अवस्थामा भेटिएको छ । आगो निभाइएपछि सोधपुछ गर्दा घाइते स्वयंले पनि आफ्नो नाम सूर्य पोखरेल र घर मोरङ रहेको बताएको स्थानीयले बताएका छन् ।

तर प्रहरीका अनुसार उनले बताएजस्तो नाम तथा ठेगाना पुष्टि हुने कुनै प्रमाण अहिले सम्म भेटिएको छैन । “घाइतेको साथमै मोबाइल छ, तर अझैसम्म कसैको फोन आएको छैन । उनका परिवार वा आफन्तसँग सम्पर्क हुन सकेको छैन,” इन्स्पेक्टर जोहारीले बताए। प्रहरी अहिले उनको वास्तविक परिचय पत्ता लगाउने क्रममा जुटिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *