सर्लाही, १८ मंसिर । नागरिक बचाउ दलका संरक्षक दुर्गा प्रसाईंले देशमा वैदिक सनातन हिन्दु धर्म, राजसंस्था, प्रदेशको खारेजी र प्रत्यक्ष कार्यकारी प्रणालीको विषयमा जनमत सङ्ग्रहमा जान अन्तरिम सरकारसँग माग गरेका छन् ।
उनले लडाइँ नचाहने हो भने जनमत सङ्ग्रह नै ‘अन्तिम विकल्प’ रहेको बताएका छन् । नेपाल जोगाइराख्ने बाटो बनाउनु सबैको दायित्व भएको उल्लेख गर्दै प्रसाईंले यस विषयमा गृहमन्त्री ओमप्रकाश अर्यालसँग कुरा भएको र गृहमन्त्री आफूहरूको मागप्रति सकारात्मक रहेको जानकारी दिए ।
उनले आफ्ना मागहरू नेपाल टुक्राउने खालका नरहेको भन्दै माग पूरा हुनेमा आफू ६० प्रतिशत विश्वस्त रहेको बताए । यद्यपि, सरकारले माग पूरा नगरेमा आन्दोलन नै अन्तिम विकल्प हुने चेतावनीसमेत दिएका छन् ।
प्रसाईंले अन्तरिम सरकारले भ्रष्टाचारीलाई पनि कारबाही गर्न नसकेको र ‘जेनजी’ लाई टेकेर बनेको सरकारले उनीहरूलाई नै थुनेको आरोप लगाए । उनले सरकार ‘उल्टो बाटोमा’ हिँडिरहेको बताएका छन् र जेनजी विद्रोहीलाई थुन्न नहुनेमा जोड दिएका छन् ।
उनले भने, ‘उहाँहरूले भ्रष्टाचारीलाई पनि कारबाही गर्न सक्नुभएन । जुन जेनजीलाई टेकेर सरकारमा जानुभयो आखिर त्यही जेनजीलाई थुनेको छ । उहाँहरू उल्टो बाटोमा हिँड्नुभएको छ । जेनजी विद्रोहीलाई थुन्नुभएन ।’
उनले राष्ट्र जोगाउन सबैले आफूलाई साथ दिन पनि आह्वान गरेका छन् ।
