सर्लाही, २६ मंसिर । द सहारा लोन सेविङ्स को–अपरेटिभ सोसाइटी लिमिटेडको २९ औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ ।
सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदनसहित विभिन्न प्रस्ताव पारित गरेको छ । सञ्चालक समितिका अध्यक्ष नागेन्द्र कुमारको अध्यक्षतामा सम्पन्न सभामा अध्यक्ष कुमारले संस्थाले समयसापेक्ष परिमार्जन गर्दै प्रविधि–आधारित सेवामार्फत सदस्यलाई गुणस्तरीय सुविधा उपलब्ध गराउने कार्यलाई प्राथमिकतामा राख्दै आएको बताए ।
वि.सं. २०५१ मा स्थापना भएको सहकारीले ३२ वर्षको यात्रामा ४६ करोड रुपैयाँ शेयर पूँजी, ५ अर्ब ८५ करोड निक्षेप तथा ५ अर्ब ५१ करोड ऋण लगानीको पहुँच बनाउँदै अग्रणी बचत तथा ऋण सहकारीको रूपमा स्थापित भएको छ ।
गत आर्थिक वर्षमा कर चुक्ता पश्चात १६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्दै प्रति शेयर रु. १०६.८१ लाभांश वितरण गरेको संस्थाले जनाएको छ ।
महाप्रबन्धक नागेन्द्र प्रसाद चौधरीले संस्थाले सुरु गरेको डिजिटल सेवाहरू—अनलाइन बैंकिङ र QR कोड—ले सदस्यलाई अझ सहज सेवा उपलब्ध गराइरहेको जानकारी दिए ।
हाल प्रधान कार्यालय मलंगवाससहित २९ शाखा तथा सेवा केन्द्रमार्फत सेवा विस्तार भइरहेको उनले बताए । सभामा चौधरीले वीरगंजमा सेवा केन्द्र भवन निर्माण सम्पन्न भइसकेको तथा लहान र कलैयामा भवन निर्माण तथा खरिद प्रक्रिया तीव्र गतिमा अगाडि बढिरहेको जानकारी दिए ।
उनले आगामी आर्थिक वर्ष ०८३/०८४ का लागि करिब ७ अर्ब ९२ करोडको कारोबार तथा ३६ करोडभन्दा बढी खुद नाफा आर्जन गर्ने लक्ष्य प्रस्तुत गरे ।

