सर्लाही, ०९ पुष । वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ७२ अर्ब २८ करोड मूल्यको पेट्रोलियम पदार्थको आयात भएको छ । वीरगञ्ज भन्सार कार्यालयले पाँच थरिका पेट्रोलियम पदार्थको आयातबाट मात्र सो अवधिमा ३० अर्ब २५ करोड राजस्व सङ्कलन गरेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकृत उदयसिंह विष्टले चालु आवको पाँच महिनामा पेट्रोलियम पदार्थको आयात बढेसँगै राजस्वमा पनि वृद्धि भएको बताए ।
गत आर्थिक वर्षको पाँच महिनाको तुलनामा चालु आवको सोही अवधिमा भने ६.४२ प्रतिशत अर्थात् १ अर्ब ८३ करोड बढी राजस्व सङ्कलन भएको हो ।
जबकि गत आवको पाँच महिनामा भने ६९ अर्ब १५ करोड मूल्यका पाँच थरीका पेट्रोलियम पदार्थको आयात भएको थियो । चालु आवको पाँच महिनामा वीरगञ्जहुँदै ३५ अर्ब ३१ करोड मूल्यबराबरको डिजेलको आयात भयो ।
त्यसैगरी, १७ करोड ३६ लाख मूल्यको पेट्रोल र १२ अर्ब १७ करोडको एलपी ग्यासको पनि आयात भयो । त्यस्तै, ७ अर्ब २५ करोडको एटीएफ र १९ करोड रुपैयाबरारको मट्टीतेल आयात भएको छ ।
