सर्लाही, ०९ पुष । पालकको नाम सुन्नेबित्तिकै धेरैले नाक खुम्च्याउने गर्छन्, तर यो हाम्रो स्वास्थ्यका लागि निकै फाइदाजनक साग हो । पालकमा प्रशस्त मात्रामा आइरन पाइन्छ, जसले शरीरमा रगतको कमी हुन दिँदैन ।
यसमा पाइने भिटामिन ए, सी र के आँखा, छाला र हड्डीका लागि रामवाण मानिन्छ । नियमित रूपमा पालकको सेवन गर्दा हाम्रो पाचन प्रणाली मजबुत हुनुका साथै शरीरले आवश्यक पोषक तत्त्वहरू प्राप्त गर्छ ।
स्वास्थ्यका साथै सुन्दरता निखार्न पनि पालक उत्तिकै प्रभावकारी छ । यसमा पाइने एन्टी-अक्सिडेन्ट गुणले अनुहारको चाउरीपना हटाउन मद्दत गर्छ। पालक खाँदा छालामा कसिलोपन आउँछ र मानिस जवान एवं सुन्दर देखिन्छ ।
शरीरको भित्री इन्फ्लेमेसन कम गर्न पनि यसको ठुलो भूमिका हुन्छ । यसमा भएको एन्टी-इन्फ्लेमेटरी गुणले बाथ र माइग्रेन जस्ता समस्याबाट राहत दिलाउनुका साथै ग्यास्ट्रिक र अपचको समस्यालाई समेत निको पार्छ ।
पौष्टिक र स्वादिष्ट पालकको साग घरमै सजिलै तयार पार्न सकिन्छ । यसका लागि सबैभन्दा पहिले पालकलाई सफा पानीले धोएर काट्नुपर्छ। त्यसपछि भाँडामा तेल तताएर लसुन र सुकेको रातो खुर्सानीको टुक्रा पड्काउनुपर्छ ।
काटिएको पालकलाई भाँडामा राखेर मधुरो आगोमा ५ मिनेटजति पकाएपछि स्वादिलो र पोषिलो साग तयार हुन्छ । यसरी नियमित रूपमा पालकलाई आफ्नो खानामा समावेश गर्दा विभिन्न रोगहरूबाट बच्न सकिन्छ ।
