सर्लाही, ११ पुष । सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेलले आज प्रमुख तीन दलका शीर्ष नेतासँग भेटवार्ता गर्ने भएका छन् ।
मन्त्री खरेलले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, र नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग व्यक्तिगत रूपमा भेट्ने कार्यक्रम तय भएको छ ।
मन्त्री खरेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको वातावरण तयार पार्नका लागि यो भेटवार्ता आयोजना गरेका छन् ।
उनको सचिवालयका अनुसार, मन्त्री खरेल पहिलो भेट कांग्रेस सभापति देउवासँग गर्नेछन्, ११ बजे ओलीसँग र अन्तिममा प्रचण्डसँग भेटवार्ता गर्ने कार्यक्रम तय गरिएको छ ।
यसै क्रममा, जेनजी आन्दोलनका क्रममा क्षति भएका राजनीतिक दलका कार्यालयहरूको अनुगमन पनि सरकारले सुरु गरेको छ । यसका साथै निर्वाचनको तयारी र समन्वयका लागि सरकारले सरोकारवाला पक्षसँग संवादलाई तीव्रता दिएको जनाएको छ ।
