सर्लाही, १३ पुष । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौंका मेयर बालेन्द्र साहबीचको ‘एकता’ मा उर्जामन्त्री तथा उज्यालो नेपाल पार्टीका संरक्षक मानिएका कुलमान घिसिङ छुट्न पुगे । उनलाई पनि सँगै ल्याउन बालेनले जोड गरेका थिए ।

हिजो कुलमान र बालेनबीच दुई पटक वान टु वान छलफल भएको थियो । बिहानको भेटमा बालेनले रास्वपासँग भएको आधारभूत सहमतिबारे व्रिफिङ गर्दै त्यसमा मिसिन कुलमानलाई प्रस्ताव गरे । तर, कुलमानले निशर्तरुपमा रास्वपामा विलय हुन नजाने अडान लिए ।

दिउँसो पार्टीको केन्द्रीय समिति वैठकमा सहभागी भएर उनले आत्मसम्मान गुमाएर एकता नगर्ने अभिव्यक्ति दिएका थिए । यद्यपि, रास्वपासँग मिल्नुपर्छ भन्ने मत पार्टीमा बलियो थियो ।

साँझ फेरि बालेन र कुलमानबीच बालुवाटारमा भेटवार्ता भयो । उक्त भेटवार्ता झनै सकारात्मक हुन सकेन । कुलमानले आधा कार्यकाल आफू प्रधानमन्त्री बन्ने प्रस्ताव बालेनले अस्वीकार गरेको स्रोतहरु बताउँछन् ।

कुलमान निकट स्रोतले भन्यो, ‘सम्मानजनक एकता गर्ने नियत नै देखिएन । उहाँले (बालेन) ले केवल तपाईं पनि आउनुस भन्नुभयो, तर ठोस प्रस्ताव केही थिएन ।’

कुलमानले भने भावि प्रधानमन्त्रीमा आलोपालो गर्ने प्रस्ताव बालेनसँग राखेका थिए ।

स्रोतले भन्यो, ‘पहिलो अढाइ वर्ष बालेन र अर्को अढाइ वर्ष आफू प्रधानमन्त्री बन्ने गरी भागबण्डा गर्ने प्रस्ताव राख्नुभएको थियो । बालेनलाई त्यो स्वीकार्य भएन ।’

जेनजी आन्दोलनको म्यान्डेट नै आफू ५ वर्ष प्रधानमन्त्री हुनुपर्छ भन्ने रहेको बालेनले तर्क गरेका थिए । साथै, आफू राष्ट्रिय र अन्तर्राष्ट्रिरुपमा पनि चर्चित व्यक्ति भएकाले प्रधानमन्त्रीमा भागबण्डा नसक्ने उनको भनाइ थियो ।

कुलमानले यसअघि रास्वपामा आफ्नो ओहदा र पार्टीको हिस्सेदारीको शर्त पनि राखेका थिए । पार्टीको नाम रास्वपा स्वीकार गरिसकेपछि कम्तिमा चुनाव चिन्ह उज्यालो नेपालको हुनुपर्ने उनको अडान थियो । रास्वपा यसमा सहमत भएन । केन्द्रीय समिति, पदाधिकारी र उम्मेदवारीमा निश्चित प्रतिशत हिस्सा उज्यालो नेपालले पाउनुपर्ने मागलाई पनि रास्वपा नेतृत्वले अस्वीकार गरिदिएको थियो ।

बालुवाटारमा कुलमान र बालेनबीच वान टु वान वार्तामा पछि रवि लामिछाने पनि मिसिएको समाचारहरु आएका थिए । तर, कुलमाननिकट स्रोतले त्यसलाई अस्वीकार गर्यो । रवि र कुलमानबीच वार्ता नै नभएको उक्त स्रोतको भनाइ छ ।

बालेनसित नै कुरा नमिलेपछि राति साढे १० बजेतिर उहाँ हिँड्नुभयो, रवीजीसँग कुनै संवाद भएन,’ स्रोतले भन्यो ।

सोपश्चात कमलपोखरीमा आएर रास्वपा र बालेन टिमबीच निर्णायक वार्ता र सहमति जुटेको थियो ।

रास्वपा स्रोतले बताए अनुसार कुलमानलाई ल्याउने विषयमा रवि लामिछाने खासै सकारात्मक छैनन् । उनी कारागारमा रहँदा नै रास्वपा र उज्यालो नेपालबीच सहकार्य र एकताको कुराकानी भएको थियो । त्यसबेला कुलमानले महत्वाकांक्षी मागहरु राखेको रास्वपा नेताहरु बताउँछन् ।

एक पदाधिकारीले भने, ‘उहाँले आफूलाई भावि प्रधानमन्त्रीमा प्रस्ताव गर्नुपर्नेदेखि लिएर पार्टीको बागडोरसमेत आफूले पाउनुपर्ने डिमान्ड गर्नुभएको थियो । त्यसपछि वार्ता नै अघि बढेन ।’

कुलमाननिकट स्रोतले भने आफूलाई जेलबाट निकाल्नुपर्ने र सबै मुद्दा फिर्ता लिनुपर्ने रविको माग रहेको र त्यो पूरा नभएपछि असन्तुष्ट बनेको दावी गर्यो ।

उहाँले मन्त्रीज्यूसमक्ष यस्तो सन्देश पठाउनुभएको थियो । तर, अदालतमा विचाराधीन मुद्दामा सरकारले केही गर्न मिल्थेन । त्यसैले उहाँ असन्तुष्ट बन्नुभएको हुन सक्छ,’ स्रोतले भन्यो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *