सर्लाही, १३ पुष । जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र शाहको सम्झौताले भोट नतान्ने टिप्पणी गरेका छन् ।

‘नयाँ शक्तिहरू एक हुनु राजनीतिमा सुखद हो । तर, संसदीय दलको नेता र प्रधानमन्त्री अहिले नै तय गरिएको छ,’ उनले भने, ‘भविष्यमा के हुन्छ, चुनावमा के हुन्छ त्यो नहेरी प्रधानमन्त्री घोषणा गर्ने कुरा हास्यास्पद हो ।’

नेपालको राजनीतिमा चुनाव पछाडिको नेतृत्व तोकेर गएका अन्य उदाहरण समेत रहेको उनले बताए ।

‘विगतमा प्रचण्डले पनि कार्यकारी राष्ट्रपति भनेर देशभरी भन्नुभएको थियो । कहिल्यै त्यस्तो राष्ट्रपति बन्न पाउनुभएन,’ उनले थपे, ‘अहिले पनि को प्रधानमन्त्री बन्ने भनेर सम्झौता गर्नुभएको छ ।

त्यो सार्वजनिक नगरेको भए एउटा कुरा हुन्थ्यो । सार्वजनिक गर्नु भनेको घमण्ड नै हो । यसकारणले यस (सम्झौता)ले जनताको मत तान्दैन । तथापि, हाम्रो शुभकामना छ ।’

आज बिहान रास्वपाका सभापति लामिछाने र मेयर बालेनबिच सातबुँदे सम्झौता भएको हो । सम्झौतापत्र अनुसार, रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्व गर्नेछन् भने बालेन शाहलाई आगामी प्रधानमन्त्रीका रुपमा अघि सारिनेछ । चुनाव चिह्न घण्टी र घण्टी रास्वपाकै रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *