सर्लाही, १७ पुष । सर्लाहीमा २८ मतदान केन्द्र थपिएका छन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार २८ नयाँ मतदान केन्द्र थप भएसँगै फागुन २१ गतेको प्रतिनिधि सभा चुनावका लागि सर्लाहीमा ६२८ वटा मतदान केन्द्र कायम भएको छ । यसअघि २०७९ को निर्वाचनमा जिल्लाभर ३१२ मतदानस्थलमा ६०० मतदान केन्द्र रहेका थिए ।

चुनाव घोषणापछि सरकारले अध्यादेशमार्फत कानून परिवर्तन गरेर मतदाता नामावली सङ्कलन गर्दा सर्लाहीमा २२ हजार ५९५ नयाँ मतदातासमेत थपिएका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

फागुन २१ को निर्वाचनका लागि जिल्लामा पाँच लाख ११ हजार ६०६ जना अन्तिम मतदाता कायम भएका छन् । जसमा दुई लाख ७८ हजार ८३७ जना पुरुष, दुई लाख ३२ हजार ७५८ जना महिला र अन्य ११ जना रहेका छन् ।

मतदाता थपिएका आधारमा २८ वटा मतदान केन्द्र थप भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला निर्वाचन अधिकारी ऋषिराम पौडेलले जानकारी दिएका छन् ।

उनका अनुसार मतदानस्थल पहिलेकै जति रहे पनि नयाँ मतदाता थपिएका आधारमा मतदान केन्द्र भने बढाइएको हो ।

निर्वाचन आयोगले सामान्यतया एक हजार मतदाता रहेको स्थानमा एउटा मतदान केन्द्र निर्धारण गर्ने गरेको छ । अब मतदाता थपिएको आधारमा यसअघि एउटा मात्रै मतदान केन्द्र भएको ठाउँमा अब दुईवटा र यसअघि नै दुईवटा मतदान केन्द्र रहेको ठाउँमा तीनवटा मतदान केन्द्र हुन सक्ने जिल्ला निर्वाचन अधिकारी पौडेलले बताए ।

केही मतदानस्थलभित्र दुई/तीनवटासम्म पनि मतदान केन्द्र रहन सक्ने जिल्ला निर्वाचन अधिकारी पौडेलको भनाइ छ । जिल्ला सुरक्षा समितिका अनुसार सर्लाहीका ३१२ मतदानस्थलमध्ये सुरक्षाको हिसाबले २३ वटा सामान्य, १३१ वटा संवेदनशील र १५८ वटा अतिसंवेदनशील सूचीमा रहेका छन् ।

फागुन २१ को निर्वाचनलाई मध्यनजगर गर्दै जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुले विभिन्न पालिकाहरुमा पुगेर मतदानस्थलहरुको निरीक्षण गर्न सुरु गरिसक्नुभएको छ ।

मतदानस्थलको भौतिक तथा सुरक्षाको अवस्थासहित जनप्रतिनिधि, कर्मचारी, स्थानीयलगायतसँग राय, सुझाव लिने काम गरिरहेको प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।

सिडिओ कडरियाले जिल्लाका ३१२ मध्ये आधा बढी मतदानस्थलको निरीक्षण गरिसकिएको जानकारी दिए । फागुन २१ को निर्वाचनका लागि माघ २ गते सदरमुकाम मलंगवामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी भइरहेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *