सर्लाही, २१ पुष । सर्लाहीको लालबन्दी नगरपालिका–१ जङ्गल टोलस्थित भित्री सडक खण्डमा प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागुऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ । घटनामा संलग्न एक भारतीय नम्बरको कार र एक मोटरसाइकल पनि प्रहरीले बरामद गरेको छ ।
पक्राउ पर्नेमा लालबन्दी नगरपालिका–१ नवलपुर निवासी ३२ वर्षीय नुरहसन साह रहेका छन् ।
प्रहरीले डाबरीबाट लालबन्दीतर्फ जाँदै गरेको बीआर ०२ पी.बी. २२२६ नम्बरको खरानी रङ्गको Marazzo एम–२ कार तथा बागमती प्रदेश ०६–०२ प १७७० नम्बरको रातो–कालो रङ्गको १२५ सीसीको टीभीएस राइडर मोटरसाइकललाई चेकजाँचका लागि रोक्न खोजेको थियो । तर दुवै सवारीसाधन प्रहरीले रोक्न खोज्दा तीव्र गतिमा भागेका थिए ।
सो क्रममा प्रहरीले मोटरसाइकल चालक नुरहसन साहलाई नियन्त्रणमा लिन सफल भएको थियो । साहसँग गरिएको प्रारम्भिक सोधपुछका क्रममा भारतीय नम्बरको कारमा प्रतिबन्धित लागुऔषध गाँजा रहेको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।
उक्त सूचनाका आधारमा तत्कालै प्रहरी टोली खटिई भाग्दै गरेको कारको पिछा गरिएको थियो । पिछा गर्ने क्रममा उक्त कार लालबन्दी नगरपालिका–१ जङ्गल टोलस्थित लालबाबु महतोको घरमा ठोक्किएर दुर्घटनाग्रस्त अवस्थामा फेला परेको र चालक फरार भएको प्रहरीले जनाएको छ ।
दुर्घटनाग्रस्त कारको चेकजाँच गर्दा सिटको पछाडि लुकाइछिपाइ राखिएको अवस्थामा प्लाष्टिकले बेरिएका १५ पोका प्रतिबन्धित लागुऔषध गाँजा फेला परेको प्रहरीले बताएको छ । बरामद गरिएको गाँजाको कुल तौल ६० केजी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ ।
प्रहरीले गाँजा, कार, मोटरसाइकल तथा मोटरसाइकल चालक साहलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ । नुरहसन साहलाई जिल्ला अदालत सर्लाहीबाट लागुऔषध मुद्दामा ८ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
