सर्लाही, २७ पुष । नेपाली कांग्रेसको दाेस्राे विशेष महाधिवेशन आज काठमाडौंको भृकुटीमण्डपमा उद्घाटन हुँदै छ । महाधिवेशनलाई व्यवस्थित र सुरक्षित रूपमा सम्पन्न गर्न करिब ६ सय स्वयम्सेवक परिचालन गरिएको नेपाल तरुण दलका केन्द्रीय सदस्य तथा नेता मनोज कटुवालले जानकारी दिए ।
उनका अनुसार महाधिवेशनस्थल तथा आसपासका क्षेत्रमा व्यवस्थापनका लागि स्वयम्सेवकहरू ठाउँ–ठाउँमा खटिएका छन् । ‘सहभागीहरूलाई सहजता प्रदान गर्न, भिड व्यवस्थापन तथा आकस्मिक अवस्थालाई ध्यानमा राख्दै स्वयम्सेवक परिचालन गरिएको हो,’ कटुवालले भने । महाधिवेशनस्थलमा स्वास्थ्य सेवा उपलब्ध गराउन स्वास्थ्य डेस्कसमेत स्थापना गरिएको छ ।
सुरक्षाको दृष्टिले समेत स्वयम्सेवकहरू तयारी अवस्थामा रहने र कुनै पनि असहज परिस्थितिमा सहभागीलाई आवश्यक सहयोग उपलब्ध गराउने व्यवस्था गरिएको उनले बताए । विशेष महाधिवेशनमा ५० हजारभन्दा बढी नेता, कार्यकर्ता र शुभेच्छुकको सहभागिता हुने अनुमान गरिएको छ ।
विशेष महाधिवेशनका लागि प्रतिनिधिहरूको नाम दर्ता प्रक्रिया बिहान ८ बजेदेखि जारी छ । भृकुटीमण्डप पुगेका महाधिवेशन प्रतिनिधिहरूले नाम दर्ता गरी परिचयपत्र लिने क्रम जारी छ ।
कांग्रेसले आज दिउँसो १ बजे विशेष महाधिवेशनको औपचारिक उद्घाटन गर्ने तयारी गरेको छ । उद्घाटनअघि काठमाडौं उपत्यकाका विभिन्न ६ स्थानबाट जुलुस निकालिने कार्यक्रमसमेत तय गरिएको छ ।
