सर्लाही, ०२ माघ । सर्लाहीमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्यादी प्रहरी (निर्वाचन प्रहरी) भर्ना प्रक्रिया सुरु भएको पाँच दिनमै ६ हजार २६५ जनाले आवेदन दर्ता गराएका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार जिल्लाका लागि कुल ३ हजार ९२६ जना म्यादी प्रहरी आवश्यक रहेकामा मागभन्दा झण्डै दोब्बर आवेदन परेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा डिएसपी सरोज राईका अनुसार आवेदन दिनेहरूमध्ये ५ हजार ३ सय ४२ जना पुरुष र ९ सय १३ जना महिला रहेका छन् ।
भर्नामा सहभागी हुन चाहने युवाहरूको उत्साहजनक उपस्थिति देखिएको र पहिलो दिनमै दरखास्त बुझाउन जिल्ला प्रहरी कार्यालयमा लामो लाइन लागेको प्रहरीले जनाएको छ ।
म्यादी प्रहरी भर्नाका लागि आवेदन दिने अन्तिम मिति २०८२ माघ १ गते सम्म तोकिएको थियो । सरकारले यसपटकको प्रतिनिधिसभा निर्वाचनका लागि देशभर कुल १ लाख ३३ हजार १८० जना म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको छ ।
निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र मर्यादित बनाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागको समन्वयमा करिब डेढ लाख सुरक्षाकर्मी परिचालन गर्ने सुरक्षा योजना रहेको छ ।
जिल्लाका विभिन्न मतदान केन्द्रहरूको सुरक्षा तथा व्यवस्थापनका लागि भर्ना गरिने म्यादी प्रहरीले निर्वाचन अवधिमा नियमित प्रहरीको सहयोगीका रूपमा काम गर्नेछन् ।
यसैबीच, म्यादी प्रहरीलाई दैनिक ८६९ रुपैयाँ ४० पैसाका दरले ४० दिनका लागि करिब ३४ हजार रुपैयाँ तलब प्रदान गरिने व्यवस्था गरिएको छ ।
