सर्लाही, ०३ माघ । सर्लाहीको बागमती नगरपालिका–१२ स्थित भरत ताल परिसरमा पार्किङ गरेर राखिएको मोटरसाइकल चोरी गर्ने दुई युवक पक्राउ परेका छन् ।

मोटरसाइकल चोरी गरेर फरार हुँदै गर्दा लालबन्दी नगरपालिका–१५, बोहोरेडाँडाका २२ वर्षीय श्यामलाल न्यासुर (तामाङ) र सोही नगरपालिकाको वडा नं. १५ देउरालीका २३ वर्षीय मिमकुमार मोक्तान पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय हरिवनका अनुसार पर्यटकीय स्थल भरत ताल परिसरमा पार्किङ गरेर राखिएको ना ४२ प ८०५६ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल चोरी गर्ने क्रममा दुवै युवकलाई घटनास्थलबाटै तत्काल नियन्त्रणमा लिइएको हो ।

प्रहरीले उनीहरूले प्रयोग गरेको बागमती प्रदेश ०२–०४८ प १६५६ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको छ ।

उक्त मोटरसाइकलको कुनै कागजात फेला नपरेकाले चोरीकै हुन सक्ने आशंकामा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले बताए ।

चोरीको मोटरसाइकलसहित पक्राउ परेका दुवै युवकविरुद्ध थप अनुसन्धानका लागि आज सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *