सर्लाही, ०८ माघ । २१ फागुनको निर्वाचन व्यवस्थापनका लागि निर्वाचन आयोगले दुई लाखभन्दा बढी कर्मचारी खटाउने भएको छ । चुनाव तयारी गरिरहेको आयोगले कर्मचारी खटनपटनको तारतम्य मिलाउँदै छ । आयोगका अनुसार मतदान केन्द्रसहित १६५ निर्वाचन क्षेत्रमा निर्वाचन व्यवस्थापनका लागि कुल दुई लाख १३ हजार कर्मचारी खटाइनेछ ।

आयोगले केन्द्रीय कार्यालयसहित प्रत्येक जिल्लामा गरेर ७७ मुख्य निर्वाचन अधिकृतको कार्यालय, ८८ वटा निर्वाचन अधिकृतको कार्यालय, ७० वटा जिल्ला निर्वाचन कार्यालय, ७ वटा प्रदेश निर्वाचन कार्यालयमा कर्मचारी व्यवस्थापन गर्नुपर्छ । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदान निर्वाचनका लागि कर्मचारी व्यवस्थापनको कार्य भइरहेको नयाँ पत्रिकालाई बताए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सामान्यतया जिल्ला न्यायाधीश, निर्वाचन अधिकृतको कार्यालयमा न्यायसेवाका उपसचिवसरहका कर्मचारी, जिल्ला निर्वाचन कार्यालयमा शाखा अधिकृतसरह र सात प्रदेश निर्वाचन कार्यालयमा उपसचिवसरहको कर्मचारीको नेतृत्वमा कर्मचारी खटाउने व्यवस्था छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन अधिकृतको कार्यालयले अन्तर्गतका मतदान केन्द्रमा कर्मचारी खटाउँछ ।

अहिले देशभर २३ हजार ११२ मतदान केन्द्र छन् । ती सबै ठाउँमा आयोगले कर्मचारी व्यवस्थापन गर्नुपर्छ । पाँच सयजनासम्म मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी कर्मचारी र दुईजना स्वयंसेवकसहित आठजना कर्मचारी खटिन्छन् ।

त्यस्तै, पाँच सयभन्दा बढी मतदाता भएको मतदान केन्द्रका लागि एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, तीन सहायक कर्मचारी, एक सहयोगी र तीनजना स्वयंसेवकसहित नौ कर्मचारी खटिन्छन् । अस्थायी मतदान केन्द्रका लागि भने एक मतदान अधिकृत, एक सहायक मतदान अधिकृत, एक सहयोगी कर्मचारी र दुईजना स्वयंसेवकसहित पाँचजना खटाउने व्यवस्था छ ।

सात प्रदेश निर्वाचन कार्यालय र ७० जिल्ला निर्वाचन कार्यालयमा कर्मचारी दरबन्दी नै छ । यसबाहेकमा भने कर्मचारी खटनपटन गर्नुपर्छ । आयोगले आफूअन्तर्गत कायम नियमित दरबन्दीमा कार्यरतबाहेक अतिरिक्त कर्मचारीसमेतलाई व्यवस्थापन गरिरहेको छ ।

संघ, प्रदेश र स्थानीय तह गरी तीनै तहका कर्मचारीलाई आवश्कताअनुसार खटाएर त्यसबाट पनि नपुगे शिक्षकसमेतलाई निर्वाचनमा खटाउने गरी काम गरिरहेको आयोगका प्रवक्ता भट्टराईले भने ।

‘मुख्य निर्वाचन कार्यालय र निर्वाचन कार्यालयमा कर्मचारी खटाइसकिएको छ । मतदान केन्द्रमा निर्वाचनको केही समयअघि फागुन लागेपछि खटाइन्छन्,’ आयोगका प्रवक्ता भट्टराई भन्छन्  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *