सर्लाही, ०८ माघ । सर्लाहीको मलंगवा नगरपालिका–७ गणेशिया चौकदेखि शिवसागर चौकसम्मको सडक खण्डमा प्रहरीले चेकजाँचका क्रममा प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले सवारी साधन तथा पैदल यात्रीलाई रोकी जाँच गर्ने क्रममा सुखचैना हुँदै शिवसागर चौकतर्फ आउँदै गरेको बी.आर. ०६ ए.बी. नम्बरको होन्डा सि.बी. साइन मोटरसाइकललाई रोकेको थियो ।

जाँचका क्रममा मोटरसाइकल चालक कौडेना गाउँपालिका–१ निवासी दिलिप मण्डलका १९ वर्षीय छोरा निलेश मण्डल र पछाडि सवार चक्रघट्टा गाउँपालिका–३ निवासी शेख इजराईलका ३२ वर्षीय छोरा शेष मोफिजको शरीर तथा मोटरसाइकल खानतलासी गरिएको थियो ।

खानतलासीका क्रममा मोटरसाइकलको सिटमुनि रातो रंगको प्लास्टिकमा लुकाइछिपाई राखिएको सिट जतिको आकारको एक पोका गाँजा फेला परेको प्रहरीले जनाएको छ । उक्त गाँजाको तौल ७ किलो ८०० ग्राम रहेको छ ।

प्रहरीले गाँजा, मोटरसाइकल तथा दुवै व्यक्तिलाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा सर्लाही जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *