सर्लाही, १५ माघ । सर्लाहीको सदरमुकाम मलंगवामा बुधबार हात्तीपाइले रोगविरुद्ध सञ्चालन हुने आम औषधि सेवन अभियानबारे पत्रकारहरूसँग अन्तरक्रिया कार्यक्रम गरिएको छ ।
स्वास्थ्य कार्यालय सर्लाहीको आयोजनामा सम्पन्न कार्यक्रममा स्वास्थ्य कार्यालय प्रमुख डा. नवल किशोर झाको अध्यक्षता रहेको थियो। कार्यक्रममा मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, स्वास्थ्य सेवा विभाग अन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा टेकुका किटजन्य रोग विशेषज्ञ डा. शशि कँडेल, स्वास्थ्य कार्यालयका मनोज झा, नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरलगायत जिल्लाका सञ्चारकर्मीहरूको सहभागिता थियो ।
कार्यक्रममा जानकारी दिँदै डा. झाले सर्लाहीका १२ वटै पालिकामा सातौँ चरण अन्तर्गत हात्तीपाइले रोगविरुद्ध आम औषधि सेवन अभियान सुरु भइसकेको बताए ।
यस वर्ष जिल्लामा ४ लाख ३० हजार ९ सय ४१ जनालाई लक्षित गरी अभियान सञ्चालन गरिएको र कुल जनसंख्याको कम्तीमा ८० प्रतिशतलाई औषधि सेवन गराउने लक्ष्य रहेको उनले जानकारी दिए ।
अन्तरक्रियामा डा. शशि कँडेलले हात्तीपाइले रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने बताए । यो रोग धागोजस्तो परजीवीका कारण हुने र मानिसको शरीरमा लामो समयसम्म बस्न सक्ने उनले बताए ।
रोग लागेमा खुट्टा तथा पुरुषको अण्डकोष सुन्निने, महिलामा स्तनको आकार बढ्ने जस्ता लक्षण देखिने जानकारी उनले दिए ।
उनका अनुसार दुई वर्षमुनिका बालबालिका, गर्भवती महिला, दीर्घकालीन रोगी, एक हप्ताभित्रका सुत्केरी तथा खाली पेटमा औषधि सेवन गर्न नहुनेछ । सरकारले व्यक्तिको उचाइका आधारमा औषधिको मात्रा निर्धारण गर्ने व्यवस्था गरेको छ ।
स्वास्थ्य कार्यालयका मनोज झाले घरआँगनमा पानी जम्न नदिई लामखुट्टेको प्रजनन रोक्नुपर्नेमा जोड दिए । नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष ओमप्रकाश ठाकुरले अभियान सफल बनाउन सञ्चार माध्यममार्फत जनचेतना फैलाउन आग्रह गरे ।
१४ दिनसम्म सञ्चालन हुने यो अभियान मंगलबारदेखि सर्लाहीका १२ वटै पालिकामा सुरु भइसकेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ ।
