सर्लाही, १९ माघ । सर्लाहीमा निर्वाचन प्रहरीका लागि आईतबार (हिजो) देखि आठ ठाउँबाट एकैसाथ तालिम प्रदान गर्न सुरु गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय मलंगवा र मातहतका सातवटा इलाका प्रहरी कार्यालयबाट एकसाथ निर्वाचन प्रहरीको तालिम प्रारम्भ गरिएको हो ।
सर्लाही प्रहरीका सूचना अधिकारी एवं डिएसपी सरोज राईले फागुन २१ को प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी जिल्लामा छ हजार २६५ जनाले आवेदन दिएकोमा गृह मन्त्रालयले तोकेर पठाएको कोटा अनुसार तीन हजार एक पुरुष र ९२५ महिला गरी तीन हजार ९२६ जना निर्वाचन प्रहरी छनौट गरिएको जानकारी दिए ।
छनौट भएका निर्वाचन प्रहरीलाई पायक पर्ने गरी जिल्ला प्रहरी कार्यालय मलंगवा र मातहतका साटवटा इलाका प्रहरी कार्यालयमा खटाइएको हो ।
डिएसपी राईका अनुसार जिल्लामा छनौट भएका निर्वाचन प्रहरीको जिल्ला प्रहरी कार्यालय मलंगवा तथा चक्रघट्टा, हरिवन, हरिपुर, केशरगन्ज, गडहीया, बरहथवा र लालबन्दीमा रहेका इलाका प्रहरी कार्यालयमा तालिम सुरु भएको हो ।
निर्वाचन प्रहरीलाई घर पायक पर्ने गरी नजिकको इलाका प्रहरी कार्यालयमा हाजिर भएर तालिम गर्ने व्यवस्था मिलाइएको छ । निर्वाचन प्रहरीले घरबाटै तालिममा सामेल हुने र जिम्मेवारी अनुसारको काम गर्न भ्याउने गरी व्यवस्था मिलाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
