सर्लाही, १९ माघ । मुम्बईको जुहूस्थित चर्चित फिल्म निर्देशक रोहित शेट्टीको निवासबाहिर शनिबार अबेर राति गोली प्रहार भएको छ । नौ तले भवनको पहिलो तलामा राति करिब १२:४५ बजे आक्रमणकारीहरूले कम्तीमा पाँच राउन्ड गोली चलाएका हुन् । 

प्रहार गरिएकोमध्ये एउटा गोली भवनभित्र रहेको जिमको सिसामा लागेको प्रहरीले जनाएको छ । घटना लगत्तै सक्रिय भएको पुणे प्रहरीले आइतबार यस मामलामा संलग्न भएको आशङ्कामा चार जनालाई हिरासतमा लिएको छ ।

यस आक्रमणको जिम्मेवारी कुख्यात लरेन्स बिश्नोई ग्याङले लिएको छ । सामाजिक सञ्जाल फेसबुकमा ‘शुभम लोन्कर आरजु बिश्नोई’ नामक एकाउन्टबाट एउटा पोस्ट सार्वजनिक गर्दै ग्याङले यो घटनाको जिम्मा लिएको हो । 

पोस्टमा यसलाई ‘सानो ट्रेलर’ मात्र भन्दै चेतावनी दिइएको छ । ‘अर्को पटक घरबाहिर होइन, उसको बेडरुमभित्र छिरेर छातीमा गोली हान्नेछौँ,’ पोस्टमा लेखिएको छ ।

यसअघि पटक-पटक सन्देश पठाउँदा पनि आफ्नो काममा दखल दिएकाले शेट्टीलाई निशाना बनाएको उनीहरूको दाबी छ ।

बलिउडलाई खुला चेतावनी र सुरक्षामा कडाइ बिश्नोई ग्याङले रोहित शेट्टीलाई मात्र नभई समग्र बलिउडलाई नै चेतावनी दिएको छ । समयमै नसुध्रिए राष्ट्रवादी कांग्रेस पार्टीका नेता बाबा सिद्दीकीको भन्दा पनि नराम्रो हाल बनाइदिने धम्की उनीहरूले दिएका छन् । 

शुभम लोन्कर बाबा सिद्दीकी हत्याकाण्डको मुख्य योजनाकारमध्ये एक हुन् । यो घटनापछि जुहू क्षेत्रमा रोहित शेट्टीको घर आसपासको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ र थप सुरक्षा बल तैनाथ गरिएको छ ।

यसअघि पनि लरेन्स बिश्नोई ग्याङले कमेडियन कपिल शर्माको क्यानडास्थित क्याफेमा तीन पटक गोली प्रहार गरिसकेको छ। बलिउडका हस्तीहरूलाई लगातार धम्की र आक्रमणको निशाना बनाउन थालेपछि मुम्बईमा त्रासको वातावरण सिर्जना भएको छ । 

प्रहरीले अहिले सोसल मिडिया पोस्टको प्राविधिक पक्ष र हिरासतमा लिइएका व्यक्तिहरूको बयानका आधारमा थप अनुसन्धान अगाडि बढाइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *