सर्लाही, १९ माघ । गत २३ भदौको आन्दोलन र २४ को प्रदर्शनमा भौतिक संरचनामा भएको क्षतिको बिमा दाबी साढे २३ अर्ब रुपैयाँ बराबरको परेकामा ६ अर्ब रुपैयाँ बराबरको भुक्तानी भएको छ ।

यही ५ माघसम्मको तथ्यांकअनुसार बिमा कम्पनीहरूमा २३ अर्ब ७७ करोड २८ लाख रुपैयाँको दाबी परेको थियो ।

त्यसमध्ये माघ पहिलो सातासम्म ५ अर्ब ९८ करोड २ लाख रुपैयाँ मात्र भुक्तानी भएको बिमा प्राधिकरणको तथ्यांक छ ।

प्रदर्शनका क्रममा भएको क्षतिमा परेको दाबी हालसम्मकै सबैभन्दा धेरै भएको पनि बिमा कम्पनीहरूको भनाइ छ । यसअघि २०७२ को भूकम्पमा १७ अर्ब र अघिल्लो वर्षको असोजमा आएको बाढीमा करिब १३ अर्बको बिमा दाबी परेको थियो  ।

माघ पहिलो सातासम्म भुक्तानी भएको रकममा अग्रिम भुक्तानीसमेत रहेको प्राधिकरणले प्रस्ट्याएको छ । सो अवधिमा भुक्तानी रकम कुल दाबीको करिब २५.१५ प्रतिशत मात्र हो । गत सातासम्म बिमा कम्पनीहरूमा ३ हजार ३ सय ३४ दाबी परेका छन् ।

बिमा कम्पनीले गरेको दाबी भुक्तानीमा नियामक निकाय बिमा प्राधिकरणले सन्तोषजनक भएको धारणा राखेको छ । नेपालजस्तै सामाजिक, आर्थिक अवस्था भएका अरू देशमा पनि यही गतिमा बिमा भुक्तानी हुने गरेको प्राधिकरणको दाबी छ ।

दाबी भुक्तानीका लागि प्रारम्भिक मूल्यांकन हुनुपर्ने र मूल्यांकन पूरा भएकाहरूको हकमा बिमा भुक्तानी भइसकेको प्राधिकरणले जनाएको छ । मूल्यांकन पूरा नभएको/प्रक्रियामा रहेका दाबीको हकमा भुक्तानी बाँकी रहेको जनाइएको छ ।

अहिले बिमा कम्पनीका कारणले भन्दा पनि धेरै दाबीमा प्रक्रिया नपुगेकाले अपेक्षाअनुसार भुक्तानी गर्न नसकिएको बिमक संघका अध्यक्ष पूर्वअध्यक्ष चंकी क्षेत्रीले बताए ।

उनका अनुसार भुक्तानीका लागि बिमा कम्पनीसँग फन्ड (पैसा) को अभाव छैन । प्रक्रिया पूरा भएर कम्पनीमा आएकाको दाबी रोकिएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *