सर्लाही, २३ माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले ‘अबकी बार सय पार’ को नारा लगाएर चुनावी अभियानमा खट्न पार्टीपंक्तिलाई निर्देशन दिएका छन् । पोखरा पुगेका थापाले संगठनको तागतले मज्जाले बहुमत ल्याउन सकिने भन्दै घरघर जान आग्रह गरे ।
उनले भने, ‘यो १६५ निर्वाचन क्षेत्रमा चुनाव लडेको नेपालको आजको एउटा मात्र पार्टी हो । कुनै अर्को पार्टी छैन, कांग्रेसको कुनै कार्यकर्ताले रुख चिन्हभन्दा बाहेक अन्त कतै पनि मत राख्न पाइँदैन ।
बन्द कोठाभित्र गएर कहीँ खासखुस गर्दैन । यहाँ कुनै नेता जिताउनका निम्ति कुनै अर्को नेता हराउने कुरा स्वीकार्य हुँदैन । अब की बार यो सरकार भन्ने नारा लाउन छोडिदिनुस् ।
अब की बार सय पार भन्ने नारा लाउनुस् । मज्जाले सकिन्छ, बहुमतसम्म पुग्न सकिन्छ ।’
कांग्रेस १० लाख क्रियाशील सदस्य भएको पार्टी भन्दै उनले भने, ‘हिजो कांग्रेस पार्टी छोडेर जानुभएको साथीहरू, कुनै न कुनै कारणले जानुभएको छ, चित्त दुखाएर जानुभएको छ, मन दुखाएर जानुभएको छ ।
ती सबै साथीहरूलाई हृदय खुल्ला राखेर अब हामीले स्वागत गर्नुपर्ने छ । सबै साथीहरूलाई घर फर्क भन्नुपर्ने छ। यो घरमा जे कुरामा चित्त दुखाएर जानुभएको छ, तपाईँको चित्त दुख्नुपर्ने कारणहरूलाई सम्बोधन गर्ने प्रयास हामीले गरेका छौँ यो भनेर तपाईँहरूले फिर्ता बोलाउनु पर्नेछ।’
