सर्लाही, २४ माघ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयबाट गत आर्थिक वर्ष ०८१/८२ मा किसानलाई तीन अर्ब पाँच करोड रुपैयाँ अनुदान वितरण भएको छ । मन्त्रालयले बाली तथा पशुधन बिमा प्रिमियम र उखु किसानलाई अनुदानबापत सो रकम वितरण गरेको शुक्रबार सार्वजनिक वार्षिक प्रगति विवरणमा उल्लेख छ ।
मन्त्रालयको योजना तथा विकास सहायता समन्वय महाशाखाद्वारा प्रकाशित प्रतिवेदनअनुसार पशुपक्षी तथा मत्स्य बिमाशुल्कको प्रिमियममा अनुदानबापत एक अर्ब ४३ करोड आठ लाख ८८ हजार सात सय ५५ रुपैयाँ र बाली बिमाको प्रिमियम अनुदानबापत १७ करोड सात लाख ८९ हजार एक सय ८९ रुपैयाँ वितरण भएको छ ।
मन्त्रालयले ‘बाली तथा पशुधन बिमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि, ०८१’ मा रहेर रकम निकासा गरेको जनाएको छ ।
बिमा कम्पनीले किसानको पशुधन र बालीको बिमा गरेको तथ्यांक बिमा प्राधिकरणमा बुझाउने र प्राधिकरणले उपलब्ध गराएको तथ्यांकअनुसार मन्त्रालयले प्राधिकरणकै खातामा अनुदानबापतको रकम निकासा गर्दै आएको छ ।
गत आवमा कुल बिमा प्रिमियमबापत एक अर्ब ६० करोड १६ लाख ७७ हजार नौ सय ४५ अनुदान प्रवाह भएको मन्त्रालयले जनाएको छ ।
गत आवमा १६ सय ७७ किसानले बाली बिमा र एक लाख ६० हजार तीन सय ३२ पशुपक्षी र मत्स्यको पशुधन बिमा भएको मन्त्रालयले जनाएको छ ।
बिमा शुल्कको ८० प्रतिशत प्रिमियम सरकारले अनुदानबापत व्यहोर्दै आएको छ । त्यस्तै, कृषि विभागमार्फत गत आवमा प्रतिक्विन्टल ७० रुपैयाँका दरले कुल एक अर्ब ४४ करोड ९२ लाख ३८ हजार रकम उखु किसानलाई अनुदान वितरण गरिएको मन्त्रालयले जनाएको छ ।
गाईभैँसीमा लाग्ने खोरेत रोग नियन्त्रणका लागि ९७ लाख खोप खरिद र नार्कबाट धान, मकै स्याउ, एभोकाडो, सुन्तला, जुनार र कागतीको कुल २१ नयाँ जात सिफारिस भएको प्रगति विवरण पनि प्रतिवेदनमा उल्लेख छ ।
स्थानीय तहको समन्वयमा किसानको सूचीकरण
स्थानीय तहको समन्वयमा किसान सूचीकरणलाई तीव्रता दिइएको छ । गत आवमा किसान सूचीकरण प्रणालीमा २३ लाख ६८ हजार सात सय चारको आवेदन परेको र त्यसमध्ये सात लाख ५९ हजार चार सय १५ आवेदन स्वीकृत भएको छ ।
मल खरिद गर्न २७ अर्ब खर्च
मल खरिदका लागि २७ अर्ब २६ करोड १० लाख अनुदान निकासा भएकोमा पाँच लाख ५० हजार टन खरिदका लागि टेन्डर भएको थियो ।
त्यसमध्ये चार लाख ८८ हजार सात सय ३७ टन आयात भएको मन्त्रालयले जनाएको छ । कृषि सामग्रीबाट तीन लाख ४६ हजार ६ सय ४२ टन, साल्ट टे«डिङबाट एक लाख ४२ हजार ९५ टन र थप ३० हजार टन युरिया जिटुजीमार्फत भारतबाट आयात भएको थियो ।
दुध र माछामासु उत्पादनमा सुधार
गत आवमा २६ लाख ८४ हजार टन दुध, एक लाख २३ हजार टन माछा, चार लाख ४७ हजार टन मासु र एक अर्ब ६४ करोड ५४ लाख गोटा अन्डा उत्पादन भएको मन्त्रालयको तथ्यांक छ ।
यो उत्पादनअनुसार प्रतिव्यक्ति प्रतिवर्ष उपलब्धता ९२ लिटर दुध, १९.६ किलो माछामासु र ५६ वटा अन्डा रहेको छ ।
साढे पाँच अर्ब बेरुजु
गत आवसम्म कृषि तथा पशुपक्षी विकास मन्त्रालयको बेरुजु पाँच अर्ब ७६ करोड १० लाख ३९ हजार रहेको छ । आवको सुरुमा नौ अर्ब १९ करोड बेरुजु थियो । तर, ३७.३५ प्रतिशत अर्थात् तीन अर्ब ४३ करोड फस्र्योट भएको हो ।
