सर्लाही, २९ माघ । पूर्वप्रधानमन्त्री एवं नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेन-जी आन्दोलनलगत्तै आफू र माधव नेपालले सहजीकरण गरेकाले देश ठूलो राजनीतिक दुर्घटनाबाट जोगिएको जिकिर गरेका छन् ।

बागलुङको बुर्तिबाङमा कार्यकर्तासँगको जनसंवादमा प्रचण्डले तत्कालीन समयमा अन्तरिम सरकार र चुनाव नै विकल्पको रूपमा देखिएकाले आफूहरूले सहजीकरण गरेको बताए ।

सतही रूपमा हेर्दा जेन-जी आन्दोलन जलाउने र लुट्नेमात्र देखिएको भए पनि भित्रिरूपमा संविधान नै खारेज गराई कठपुतली सरकार बनाइ नेपाललाई युक्रेनजस्तो बनाउने मिसनले चलाइएको आफूहरूले थाहा पाएको उनको दाबी छ ।

राष्ट्र ठूलो संकटमा परेको नजिकबाट नियालेको भन्दै प्रचण्डले भने, ‘त्यसबेला समाधानका लागि विकल्पका रूपमा अन्तरिम सरकार र निर्वाचन नै हुने देखियो ।

म र माधव नेपालले सहजीकरण गर्‍यौँ । हामीले विवेक नपुर्‍याको भए । त्यो बेला जलाउने, लुट्ने त थियो रछ । नांगो आँखाले देख्यौँ । संविधान खारेज, राष्ट्रपति संस्थालाई खारेज गराई कठपुतली सरकार बनाएर युक्रेनजस्तो बनाउने मिसन थियो र’छ भन्ने हामीले थाहा पायौँ । त्यो सफल भएको भए अझ दुर्घटना हुन्थ्यो त्यसबाट बचाउन हामीले सहजीकरण गर्‍यौँ ।’

उनले संविधान बचाउन सफल भए पनि केही भने घाइते भएको बताए । साथै राष्ट्रपति संस्था बचाउन सकिएको प्रचण्डले सुनाए । सुरूमा यो चुनावतिर देश जाने हो कि हैन भन्ने शंका भएपनि अब पूरै मुलुक र जनता चुनावमा होमिएको दाहालको भनाइ छ ।

प्रचण्डले भने, ‘कतिपयले सर्वपक्षीय सरकार संसद पुन:स्थापनाको कुरा गरिरहेका थिए । हामी मात्र हौँ जनतामा जाने विकल्प नै हो भनिराख्यौँ । आज हामीलाई खुसी छ अब सबै राजनीतिक दल आम जनता चुनावका लागि तयार भएको अवस्था भयो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *