सर्लाही, ०१ फागुन । सर्लाहीको जिल्ला कारागार कार्यालय मलंगवामा नेपाली सेनाले औपचारिक रूपमा सुरक्षा जिम्मेवारी लिएको छ । मलंगवा सुरक्षा बेस सर्लाही बाट उपसेनानी जहेन्द्र सिंह ठगुना को कमाण्डमा २५ जनाको टोली कारागार सुरक्षामा खटिइसकेको छ ।
फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै नेपाली सेनाले देशभर आफ्नो तैनाथी बढाएको हो । यसअघि नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा दिँदै आएका विमानस्थल, कारागारलगायत महत्वपूर्ण कार्यालय तथा प्रतिष्ठानहरूको सुरक्षा निर्वाचन अवधिभर नेपाली सेनाले गर्ने निर्णय गरिएको गृह मन्त्रालय स्रोतले जनाएको छ ।
गृह मन्त्रालयका अनुसार निर्वाचन सुरक्षाका लागि नेपाली सेनाले देशभर ८२ वटा महत्वपूर्ण स्थानको सुरक्षा जिम्मा लिनेछ ।
सर्लाहीसहित हालसम्म ३० वटा स्थानमा सेनाले सुरक्षा दिन थालेको र त्यहाँ खटिएका प्रहरीलाई निर्वाचन सुरक्षाका लागि परिचालन गरिएको स्रोतले जनाएको छ । अन्य स्थानमा पनि क्रमशः नेपाली सेनाले सुरक्षा जिम्मा लिने प्रक्रिया अघि बढाइएको छ ।
सैनिक प्रवक्ता बस्नेत ले यो प्रक्रिया अपरेसनल गतिविधि अन्तर्गत सम्बन्धित निकायसँग समन्वय गरेर भइरहेको बताए ।
उनका अनुसार सेना र प्रहरी कति दिन सँगै ड्युटी गर्ने, कहिले सुरक्षा जिम्मेवारी पूर्ण रूपमा हस्तान्तरण गर्ने भन्ने विषय एकीकृत सुरक्षा योजना अनुसार जिल्लागत रूपमा निर्णय भइरहेको छ ।
जिल्लाको भौगोलिक अवस्था, मतदान केन्द्रको संख्या तथा संवेदनशीलतालाई आधार मानेर सुरक्षा जिम्मेवारीको व्यवस्थापन भइरहेको छ । सोमबार साँझसम्म ८ वटा विमानस्थलको सुरक्षामा नेपाली सेना खटिइसकेको छ ।
मधेस प्रदेशमा नागरिक उड्डयन कार्यालय सप्तरी, राजविराज विमानस्थल र जनकपुर विमानस्थल मा पनि नेपाली सेनाको सुरक्षा तैनाथी गरिएको छ।
निर्वाचनका क्रममा देशभरका मतदान केन्द्रमा पनि नेपाली सेना परिचालन हुनेछ। यसअघि जस्तै सेनालाई तेस्रो घेराको सुरक्षा जिम्मेवारी दिने निर्णय गरिएको छ । तर आवश्यक परे सम्बन्धित मतदान केन्द्रका निर्वाचन अधिकृत तथा अन्य सुरक्षा निकायसँग समन्वय गरेर सेनाले थप जिम्मेवारी लिन सक्ने जनाइएको छ ।
मतपत्र छपाइमा खटिएको नेपाली सेनाले मतपत्र ढुवानी, मतदानपछि मतपेटिका ढुवानी तथा मतगणनास्थलको सुरक्षामा समेत जिम्मेवारी लिनेछ ।
जेनजी आन्दोलनपछि देशको सुरक्षा अवस्था असामान्य रहेको भन्दै यसपटक निर्वाचन सुरक्षामा थप चुनौती आकलन गरिएको छ।
निर्वाचन सुरक्षाका लागि झण्डै ८० हजार नेपाली सेना, ७२ हजार नेपाल प्रहरी, ३२ हजार सशस्त्र प्रहरी र करिब डेढ लाख निर्वाचन प्रहरी परिचालन गर्ने तयारी गरिएको छ ।
सरकारले देशका १६५ वटै निर्वाचन क्षेत्रमा फागुन २१ गते एकसाथ प्रतिनिधि सभाको निर्वाचन गर्ने घोषणा गरिसकेको छ ।
