सर्लाही, १८ फागुन । सर्लाहीमा प्रतिनिधिसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी सर्लाहीका सम्पूर्ण नेपाल–भारत सीमा नाका अस्थायी रूपमा बन्द गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीद्वारा जारी सूचना अनुसार फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण फागुन १८ गते सोमबार राति १२ बजेदेखि फागुन २१ गते राती १२ बजेसम्म (७२ घण्टा) नेपाल–भारत सीमा नाका बन्द रहनेछ ।

निर्वाचनको समयमा हुन सक्ने सम्भावित सुरक्षा चुनौतीलाई न्यूनीकरण गर्न तथा शान्ति सुरक्षाको अवस्था सुदृढ बनाउन सीमा नाका बन्द गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।

सो अवधिमा सर्वसाधारण तथा सवारीसाधनको आवतजावत पूर्ण रूपमा रोक लगाइनेछ। प्रशासनले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिक, व्यापारी तथा यात्रुहरूलाई उक्त समयावधिमा आवागमन नगर्न अनुरोध गर्दै आवश्यक योजना मिलाउन आग्रह गरेको छ । साथै, शान्ति, सुरक्षा र निर्वाचनलाई मर्यादित रूपमा सम्पन्न गर्न सबै पक्षको सहयोग अपेक्षा गरिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *