सर्लाही, २७ फागुन । प्रतिनिधिसभा निर्वाचनबाट दुई तिहाइ बहुमत पाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा नयाँ सरकार निर्माणबारे छलफल प्रारम्भ भएको छ। मंगलबार प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको छ। 

रास्वपाकी सहप्रवक्ता प्रतिभा रावलले सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाहबीच नयाँ सरकार निर्माणका विषयमा निरन्तर छलफल भइरहेको बताइन्।

‘सभापति र वरिष्ठ नेताबीच निरन्तर कुराकानी भइरहेको छ। सभापति बिरामी भएकाले भेटवार्ता हुन नसके पनि कुराकानी भइरहेको छ,’ रावल भन्छिन्, ‘सरकार निर्माणका विषयमा चाँडै उहाँहरुबीच भेटवार्ता हुन्छ। आजभोलि नै भेट्ने कुरा थियो। सभापति बिरामी हुँदा भेटवार्ता हुन नसकेको हो।’ 

बालेनका विश्वासपात्र तथा काठमाडौँ–३ बाट निर्वाचित सांसद राजुनाथ पाण्डेले रवि लामिछानेसँग छलफल गरेर भावी प्रधानमन्त्री बालेन शाहले मन्त्रीहरू छान्ने बताए। 

‘संसदीय व्यवस्थामा प्रधानमन्त्री उम्मेदवारले नै मन्त्री छान्ने हो,’ बालेन निकट पाण्डे भन्छन्, ‘उहाँलाई कम्फर्टेबल तरिकाले काम गर्न सक्ने टिम निर्माण गर्नुहुन्छ। उहाँले विश्वास गरेका काबिल मान्छेलाई मन्त्री छनोट गर्नु हुन्छ।’ 

मन्त्री छनोट गर्ने कुरा लिने–दिने सम्झौताको विषय नहुने भन्दै रवि र बालेनबीच छलफल भएर टुंगिने उनको भनाइ छ। 

‘सभापतिसँग छलफल भए पनि प्रधानमन्त्री बन्ने व्यक्तिलाई कम्फर्टेबल हुने गरी क्याबिनेट बन्ने हो। सभापतिसँग परामर्श गरेर मन्त्री छनोट गर्नुहुन्छ,’ उनी भन्छन्। 

रास्वपाका केन्द्रीय सदस्य असीम शाहले पनि बालेन शाहले आफ्नो क्याबिने आफैँ छनोट गर्ने उल्लेख गरेका छन्। 

‘मन्त्री बन्न दौडधुप गर्न, भनसुन गर्न, मिडिया ट्रायल गर्न वा प्रचार गर्न आवश्यक छैन, केही नगरे पनि हुन्छ,’ रवि र बालेनको मिलनका सूत्रधार शाहले भनेका छन्, ‘जब बालेन शाह प्रधानमन्त्रीका रूपमा नियुक्त हुनुहुन्छ, उहाँले आफ्नो क्याबिनेटको टिम आफैँ छनोट गरेर बनाउनुहुनेछ। उहाँलाई सबै सांसदहरूको योग्यता र क्षमताबारे राम्रो जानकारी छ।’ 

रास्वपाको सरकार बन्ने निश्चित भएपछि बालेन अहिले समानुपातिकतर्फको क्लस्टर मिलाउन आन्तरिक छलफलमा छन्। रास्वपा केन्द्रीय सदस्य तथा काठमाडौँको मेयर हुँदाका प्रमुख स्वकीय सचिव भूपदेव शाहले आज बालेन शाहलाई भेटेका थिए। अछाम–२ मा भूपदेवको पराजयबारे बालेनले गहिरो चासो राखेका थिए। 

‘देशभर यस्तो लहर आउँदा त्यहाँ त्यस्तो रहेछ है भन्नुभयो। व्यक्तिगत रुपमा क्याम्पेन पनि राम्रै थियो। मान्छेलाई कन्भर्ट गर्न यति गाह्रो हुन्छ भन्ने लागेको थिएन। त्यो भेगमा गाह्रै भयो भन्ने कुरा भयो।’ 

सरकार निर्माणका विषयमा औपचारिक कुराकानी सुरु नभएको भन्दै परिणाम सार्वजनिक भएपछि पार्टीको बैठक बस्ने शाहले बताए। 

नेपालखबरसँग भूपदेवले भने, ‘सरकार निर्माणका विषयमा ठोस कुरा केही छैन। अहिले नतिजा आइराखेको छ। पार्टीको बैठक बसेर छलफल र निर्णय हुन्छ। चाँडै पार्टीको बैठक बस्छ।’ 

समानुपातिकतर्फको मत हेर्दा रास्वपाले ५८, कांग्रेसले १९, एमालेले १६, नेकपाले ९, श्रम संस्कृति र राप्रपाले चार–चार सिट पाउने सम्भावना देखिन्छ।समानुपातिकतर्फ दलित, आदिवासी जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम गरी ६ वटा क्लस्टरमा आयोगले तोकेको प्रतिशतअनुसार दलहरूले उमेदवारको सूची आयोगमा बुझाएका छन्। यसबाटै समानुपातिक सांसद छानिनेछन्। 

समानुपातिक मतगणना सकिएपछि आयोगले दलहरूले पाएको समानुपातिक मतका आधारमा सिट संख्या निर्धारण गर्छ। सिट संख्या निर्धारणपछि राजनीतिक दलहरूसँग ती सिटमा मनोनयन गर्ने सांसदको सूची माग्छ।

त्यसपछि उक्त सूची विभिन्न ‘क्लस्टर’ अनुसार मिले–नमिलेको हेरेर टुंगो लगाउने छ। आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष प्रतिनिधिसभा निर्वाचनको प्रतिवेदन बुझापछि मात्र नयाँ सरकार गठनको प्रक्रिया सुरू गर्न बाटो खुल्नेछ। निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि चैत पहिलो साताभित्र नयाँ सरकार गठनको बाटो खुल्ने छ।

चैत ५ गतेसम्म आफ्नो संसदीय दलको नेता चुन्ने रास्वपाको तयारी छ। 

चुनावअघि नै वरिष्ठ नेता बालेन शाहलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेकाले संसदीय दलको नेता पनि उनैलाई नै बनाउने निश्चित छ। प्रतिनिधिसभा निर्वाचनमा बहुमत सिट जित्ने पार्टीको संसदीय दलको नेता नै सरकार प्रमुख हुने संवैधानिक व्यवस्था छ।

संविधानको धारा ७६ (१) मा ‘प्रतिनिधिसभामा बहुमतप्राप्त राजनीतिक दलको संसदीय दलको नेतालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्ने’ भनिएको छ। 

रास्वपाको संसदीय दलको नेता चयन भइसकेपछि बालेनलाई राष्ट्रपति पौडेलले प्रधानमन्त्री नियुक्त गर्नेछन्। स्रोतका अनुसार प्रधानमन्त्री सुशीला कार्की चैत ५ गतेभित्र नयाँ सरकार गठनका लागि मार्गप्रशस्त गर्ने तयारीमा छिन्। प्रधानमन्त्री कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालले सुरक्षा निकायलाई चैत ५ सम्म नयाँ सरकार आउने संकेत गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *