सर्लाही, २८ फागुन । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीको मतगणना सम्पन्न भएको छ ।

पछिल्लो समय गोरखा निर्वाचन क्षेत्र १ र इलाम निर्वाचन क्षेत्र १ को मतगणना सकिए लगत्तै समानुपातिकतर्फ पनि सबै मतगणना सकिएको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए । प्रतिनिधि सभामा प्रत्यक्षतर्फ १६५ क्षेत्रकै नतिजा मंगलबार नै सार्वजनिक भएको थियो ।

समानुपातिकतर्फका ११० सिटका लागि पनि मतगणना सकिएको निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेले बताए । निर्वाचन आयोगले समानुपातिकतर्फ एक करोड १२ लाख ८० हजार ८९८ मत खसेको जनाइएको छ ।

जसमध्ये एक करोड ८ लाख ३० हजार ८१५ मत सदर भएको प्रवक्ता जिसीले बताए । समानुपातिकतर्फ ४ लाख ५० हजार ८३ मत बदर भएको भने करिब ४ प्रतिशत मत बदर भएको देखिएको छ ।

सदर भएका मतमध्ये सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ५१ लाख ८१ हजार ३३० मत, नेपाली कांग्रेसले १७ लाख ५८ हजार ९०३ मत, नेकपा (एमाले)ले १४ लाख ५५ हजार ६६९ मत, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले ८ लाख ११ हजार ३९३, श्रम संस्कृति पार्टीले ३ लाख ८५ हजार ८५२, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३ लाख ३० हजार ६४९ प्राप्त गरेको छ ।

अन्य दलले भने ‘थ्रेसहोल्ड’ अर्थात ३ प्रतिशत मत पाउन सकेनन् । समानुपातिकमा सिट पाउनका लागि सदर मतको ३ प्रतिशत मत आउनै पर्ने व्यवस्था गरिएको छ ।

आयोगले सिट बाँडफाँटका लागि आयोगले दलहरूले पाउने सिटको आधारमा समानुपातिक सूचीमा रहेको सांसदको नाम सिफारिस गर्न पत्राचार गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *