सर्लाही, ०२ चैत । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आर्थिक वर्ष २०८१/८२ मा गरेको कार्य सम्पादन मूल्याङ्कनमा सर्लाहीको लालबन्दी नगरपालिका पहिलो भएको छ ।

७०.२१ अङ्कसहित लालबन्दी नगरपालिका जिल्लाका अरु स्थानीय तहलाई पछि पार्दै प्रथम भएको हो । ६४.३८ अङ्क ल्याएको बरहथवा नगरपालिका दोस्रो र ६२.०१ अङ्क ल्याएको हरिवन नगरपालिका तेस्रो भएका छन् ।

त्यस्तै हरिपुर नगरपालिका ६१.१६ अङ्कसहित चौंथो, कौडेना गाउँपालिका ५९.१८ अङ्कसहित पाँचौं, बागमती नगरपालिका ५८.२० अङ्कसहित छैठौं, विष्णु गाउँपालिका ५४.३४ अङ्कसहित सातौं, धनकौल गाउँपालिका ५३.३७ अङ्कसहित आठौं, चक्रघट्टा गाउँपालिका ५१.८० अङ्कसहित नवौं र बलरा नगरपालिका ५०.२६ अङ्कसहित दशौँ स्थानमा रहेका छन् ।

जिल्लाका अन्य १० पालिकाले भने ५० अङ्क पनि कटाउन सकेनन् । मलङ्गवा नगरपालिकाले ४९.२५, चन्द्रनगर गाउँपालिकाले ४८.१५, ईश्वरपुर नगरपालिकाले ४६.८३, पर्सा गाउँपालिकाले ४६.०७, बसबरिया गाउँपालिकाले ४५.६१, ब्रह्मपुरी गाउँपालिकाले ४४.५० र गोडैता नगरपालिकाले ४३.९६ अङ्क प्राप्त गरेका छन् ।

अन्तिमतिर रहेका हरिपुर्वा नगरपालिका, कविलासी नगरपालिका र रामनगर गाउँपालिकाले कार्य सम्पादन मूल्याङ्कलनमा निकै कमजोर अङ्क प्राप्त गरेका छन् । हरिपुर्वाले ४२.७८, कविलासीले ४२.३५ र रामनगर गाउँपालिकाले ४०.५३ अङ्क प्राप्त गरेका छन् ।

स्थानीय तहले आर्थिक वर्ष २०८१÷८२ को राजस्व र व्ययको अनुमान सम्वन्धित गाउँ तथा नगर सभामा पेस गरे÷नगरेकोलगायत विभिन्न १७ वटा सूचक राखेर वित्त आयोगले कार्य सम्पादन मूल्याङ्कलन गर्ने गरेको छ ।

लालबन्दी नगरपालिकाका प्रमुख वासुदेव अधिकारीले जनप्रतिनिधि, कर्मचारी र सबै सरोकारवालाको संयुक्त प्रयासले कार्य सम्पादन मूल्याङ्कलनमा जिल्लामै पहिलो हुन सफल भएको र आगामी दिनमा थप पारदर्शी तथा नागरिकमैत्री सेवा प्रवाहमा जोड दिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *