सर्लाही, ०३ फागुन । निर्वाचनमा हारपछि कांग्रेसमा सभापति गगन थापाको राजीनामाको विषयलाई लिएर विवाद सुरु भएको छ ।
सभापति थापाले पार्टीको हारको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिन खोजिरहेका छन् तर उपसभापति विश्वप्रकाश शर्माले उनलाई रोकिरहेका छन् ।
अर्कोतर्फ नैतिक जिम्मेवारीको प्रश्न उठाउँदै पूर्वसभापति शेरबहादुर देउवापक्षीय केही नेताले सामाजिक सञ्जालबाट राजीनामाको विषय उठाउँदै आएका छन् ।
कांग्रेस सभापतिले राजीनामा दिँदा उपसभापतिसमक्ष बुझाउनुपर्ने वैधानिक व्यवस्था छ । तर, उपसभापति शर्माको पहिलो प्राथमिकता राजीनामा रोक्ने, नसकेमा केन्द्रीय कार्यसमितिबाट अस्वीकृत गराउनेमा केन्द्रित छ ।
‘यसैमा टुंगो नलाग्दा तत्काल केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र निर्वाचनको समीक्षा गर्ने काममा केही ढिलाइ भएको हो,’ एक पदाधिकारीले भने ।
महामन्त्री गुरुराज घिमिरेले भने चैत पहिलो साताभित्रै केन्द्रीय कार्यसमितिको बैठक बोलाएर निर्वाचन समीक्षा र पार्टीको आसन्न १५औं महाधिवेशनको तयारीबारे छलफल हुने बताए ।
सभापतिले राजीनामा दिनेभन्दा पनि महाधिवेशनको जिम्मेवारी पूरा गर्ने दिशामा अघि बढ्नु उचित हुने आफूहरूको धारणा भएको घिमिरेले जानकारी दिए ।
‘सभापतिले सार्वजनिक रूपमा राजीनामा दिन्छु भन्नुभएको छ,’ घिमिरेले भने, ‘तर विशेष परिस्थितिमा सभापतिले नेतृत्व लिनुभएको हो । निर्वाचन पनि विशेष परिस्थितिकै उपज हो ।
कति नैतिक जिम्मेवारीको विषय हो ? राजीनामा दिनुपर्ने हो वा होइन ? केन्द्रीय कार्यसमितिले छलफल गर्छ ।’ उनले नेतृत्वबारे प्रश्न उठाउनेहरूलाई महाधिवेशनमा प्रतिस्पर्धा गरेर नेतृत्व लिन चुनौती दिए ।
