सर्लाही, ०३ फागुन । सार्वजनिक ऋणको आकार २८ खर्ब ७८ अर्ब नाघेको छ । चालु वर्षको फागुन मसान्तसम्म सरकारले तिर्न बाँकी सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब २९ करोड रूपैयाँ पुगेको हो । 

सोमबार भुक्तानी बाँकी ऋणको विवरण सार्वजनिक गर्दै सार्वजनिक ऋण व्यवस्थापन कार्यालय चालु आर्थिक वर्षको ८ महिनामा २ खर्ब ४ अर्ब २४ करोड रूपैयाँ ऋण थपिएको जनाएको छ । आर्थिक वर्ष २०८१/८२ को अन्तमा अर्थात् असार मसान्तसम्म कूल सार्वजनिक ऋण २६ खर्ब ७४ अर्ब ४ करोड रूपैयाँ रहेको थियो । 

भुक्तानी बाँकी सार्वजनिक ऋण कूल गार्हस्थ उत्पादन (जीडीपी) को ४७.१३ प्रतिशत बराबर पुगेको छ । सार्वजनिक ऋणको आकार बढ्दैगर्दा अब बन्ने झण्डै दुईतिहाइ बहुमतसहितको रास्वपा सरकारमाथि दबाब बन्ने निश्चित छ । 

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार कूल भुक्तानी बाँकी सार्वजनिक ऋणमध्ये वैदेशिक ऋणको हिस्सा ५३.१६ प्रतिशत रहेको छ भने आन्तरिक ऋणको हिस्सा ४६.८४ प्रतिशत रहेको छ ।

सार्वजनिक ऋण परिचालनको वार्षिक लक्ष्य र प्राप्ति

चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ९५ अर्ब सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेको थियो । फागुन मसान्तसम्ममा २ खर्ब ९५ अर्ब १९ करोड ऋण प्राप्ति भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ, जुन वार्षिक लक्ष्यको तुलनामा कुल सार्वजनिक ऋण प्राप्ति ५०.४४ प्रतिशत रहेको छ । 

जसमध्ये आन्तरिक र बाह्य ऋण प्राप्तिको प्रगति क्रमश ६७.३१ र २४.३१ प्रतिशत रहेको छ । कूल सार्वजनिक ऋण प्राप्तिमध्ये आन्तरिक र बाह्य ऋणको हिस्सा क्रमशः ८१.१० र १८.९० प्रतिशत रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *