सर्लाही, ०३ फागुन । सर्लाही क्षेत्र- ३ बाट नवनिर्वाचित सांसद नरेन्द्र साहले क्षेत्रबासी जनताको सुविधालाई ध्यानमा राख्दै टोल फ्रि फाेन नम्बर प्रयोगमा ल्याएका छन् । 

निशुल्क फोन गर्न मिल्ने टोल फ्रि नम्बर उनको सचिवालयमा रहने जनाइएको छ । ‘म जनताको सेवा गर्न भनेर सांसद भएको हुँ,’ सांसद साहले भने, ‘जनताले आफ्नो जनप्रतिनिधिसँग कुरा गर्नुपर्दा फोन गर्न पैसा खर्च गर्नु नपरोस् भनेर टोल फ्रि फोन नम्बर लिएको छु ।’

सांसद साहका अनुसार यो फोन सचिवालयमा रहनेछ । साह राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भइ भारी मतले सर्लाही क्षेत्र नम्बर ३ बाट विजयी भएका थिए । 

जनताले आफूप्रति देखाएको विश्वासलाई कहिल्यै पनि धोका हुन नदिने उल्लेख गर्दै साहले जनताको सेवा नै आफ्नो प्रमुख ध्येय भएको बताए । 

साहले जनताको सुझाव, गुनासा, समस्या, सूचना तथा विकाससम्बन्धी विषयवस्तुहरू संकलन गर्न तथा जनप्रतिनिधि र जनताबीच प्रत्यक्ष संवाद, सहकार्य र समन्वयलाई थप सुदृढ बनाउन टोल फ्रि नम्बर लिएको स्पष्ट पारे । 

चुनाव जितेपछि जनप्रतिनिधिले क्षेत्रका जनताको फोन नउठाउने समस्या हुने गरेकोमा साहले फोन गर्न पैसा नलाग्ने नम्बर राखेर पहिलो चरणमै उदाहरणीय काम गरेको क्षेत्रबासी जनताको भनाई छ ।

‘यो एकदमै राम्रो सुरुवात हो,’ सर्लाही क्षेत्र ३ का बासिन्दा गोपाल घिसिङले भने, ‘हुने बिरुवाको चिल्लो पात भनेको यही हो । वास्तविक जनप्रतिनिधिको भूमिका नरेन्द्र साहले निर्वाह गर्नेमा हामी ढुक्क छौँ ।’

साहले टोल फ्रि नम्बर प्रयोगमा ल्याएपछि क्षेत्रबाट राय, सुझाव तथा समस्याहरू आउने र त्यसलाई सम्बन्धित निकायमार्फत समाधान तथा विकासका योजनाहरूलाई प्रभावकारी रूपमा अगाडि बढाउन सहज हुने उल्लेख गरे । 

उनले टोल फ्रि नम्बरमा फोन गरेर आफ्ना महत्वपूर्ण सुझाव, गुनासा तथा विचारहरू राख्न सार्वजनिक अपिल पनि गरेका छन् । सांसद साहले प्रयाेगमा ल्याएकाे टाेल फ्रि फाेन नम्बर १८१०५०००२४२ रहेकाे उनकाे सचिवालयले जनाएकाे छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *