सर्लाही, ०५ चैत । सर्लाहीको ईश्वरपुर नगरपालिका वडा – १० बेला र खैरा गाउँका १७० परिवारलाई जग्गाधनी प्रमाण–पत्र (लालपुर्जा) प्रदान गरिएको छ ।

वर्षौदेखि गाउँ ब्लक जग्गामा बसोवास गर्दै आइरहेका परिवारलाई नापी कार्यालय मलंगवाले लामो प्रयासपछि लालपुर्जा उपलब्ध गराएको हो । ईश्वरपुरका नगरप्रमुख मनोजकुमार आचार्य, भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष मदनबहादुर विश्वकर्मा, नापी कार्यालय मलंगवाका प्रमुख सुमनकिशोर मिश्र र वडाध्यक्ष राशनारायण चौधरीले स्थानीयहरुलाई बस्तीमै पुगेर लालपुर्जा हस्तान्तरण गरेका छन् ।

सो ठाउँमा गाउँ ब्लक जग्गामा बसोवास गर्ने २०० परिवार अझै लालपुर्जाविहीन रहेका छन् । अहिले छुटेका उनीहरुलाई पनि अर्को चरणमा चाँडै नै लालपुर्जा उपलब्ध गराउने योजनाका साथ प्रक्रिया अघि बढाइएको भूमि समस्या समाधान आयोग सर्लाहीका अध्यक्ष विश्वकर्माले बताए ।

वर्षौको प्रतिक्षापछि बसोवास र भोगचलन गरिरहेको जग्गाको लालपुर्जा पाउँदा १७० परिवार दङ्ग परेका छन् । उनीहरुलाई अब जग्गा किनबेच गर्न र बैङ्कमा धितो राखेर ऋण लिने बाटो खुलेको छ ।

गत वर्ष ईश्वरपुर नगरपालिका-११ मा पनि यसैगरी गाउँ ब्लक जग्गाको लालपुर्जा वितरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *