सर्लाही, ०५ चैत । सर्लाहीकाे सदरमुमकाम मलंगवामा जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरिएको छ ।
राष्ट्रिय आर्थिक गणनाका लागि कृषि ज्ञान केन्द्रको कार्यालय रहेकै भवनमा कार्यालय स्थापना गरेर काम अघि बढाइएको जिल्ला आर्थिक गणना कार्यालय सर्लाहीका प्रमुख एवं जिल्ला आर्थिक गणना अधिकारी राजु पोखरेलले बताए ।
आर्थिक गणनाका लागि चैत २० गतेदेखि २५ गतेसम्ममा तोकिएको सङ्ख्यामा गणक तथा सुपरीवेक्षक छनोट हुने कार्यालय प्रमुख पोखरेलले उज्यालो अभियानलाई जानकारी दिए ।
छनौट भएका गणक र सुपरीवेक्षकलाई चैत २६ गतेदेखि ३० गतेसम्म तालिम प्रदान गरिने छ । ‘अर्थतन्त्र मापनका लागि आर्थिक गणना’ नाराका साथ जिल्लाभर दर्ता भएका र नभएका उद्योग प्रतिष्ठान तथा सानादेखि ठुला व्यवसायीकहाँ पुगेर गणना गरिने छ ।
सर्लाहीसहित देशभर २०७५ सालमा पहिलो पटक आर्थिक गणना भएको थियो । अब दोस्रो पटक आगामी बैशाख २ गतेदेखि असार ७ गतेसम्म आर्थिक गणना कार्य हुँदै छ ।
त्यसका लागि सर्लाहीसहित देशैभर जिल्ला आर्थिक गणना कार्यालय स्थापना गरी काम सुरु भएको हो ।
आर्थिक गणना अभियानमार्फत नेपालमा उद्योगको अवस्था, रोजगारी सिर्जनाको अवस्था लगायतका विषय हेरिने छ । राष्ट्रिय आर्थिक गणनाबाट उद्योग, व्यापार, व्यवसाय, सेवा क्षेत्र, सहकारी तथा निजी सार्वजनिक संस्थाहरूको सङ्ख्या, प्रकार, लगानी, रोजगारी, उत्पादन र सेवा प्रवाहसम्बन्धी विवरण सङ्कलन गर्ने योजना अघि बढाइएको छ ।
