सर्लाही, १० चैत । सर्लाही सदरमुकाम मलंगवा सहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिँदै लोक आस्था एवम् सूर्य पूजाको महान् उत्सव चैती छठ पर्व श्रद्धापूर्वक मनाइँदैछ ।
गत आइतबार चतुर्थी तिथिदेखि सुरु भएको चारदिने चैती छठ उत्सवअन्तर्गत आज षष्ठी तिथिको मुख्य दिन परेको हो । यस अवसरमा व्रतालुहरू विभिन्न जलाशयमा पुगेर सन्ध्याकालीन अर्घ अर्पण गर्दैछन् ।
व्रतालुहरूले घरघरमा गहुँ र चामल कुटपिस गरी तयार पारिएको पीठोबाट ठकुवा, भुसवा, खजुरिया, पेरुकियालगायतका परिकार बनाएका छन् । साथै फलफूल, मुला, गाजर, बेसार, नरिवल, सुन्तला, केरा लगायतका सामग्री नाङ्लो, ढाकन तथा माटोका भाँडामा सजाएर भक्ति गीत गाउँदै छठ घाटतर्फ गएका छन् ।
साँझपख व्रतालुहरू जलाशयमा पसेर अस्ताउँदो सूर्यको आराधना गर्दै पिठार, सिन्दुर, अक्षेता र फूलसहित अर्घ अर्पण गर्ने परम्परा रहेको छ ।
सर्लाहीका विभिन्न पोखरी, तलाउ, नदी तथा नहर किनारमा श्रद्धालुहरूको उल्लेख्य भीड लागेको छ । पारिवारिक सुख, शान्ति, समृद्धि र आरोग्यको कामना गर्दै यो पर्व मनाउने गरिन्छ ।
चैती छठको समापन भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ अर्पण गरी गरिनेछ ।
