सर्लाही, १४ चैत । पूर्व गृहमन्त्री रमेश लेखकलाई पनि प्रहरीले नियन्त्रणमा लिने भएको छ । केहीबेरअघि कटुन्जेस्थित लेखकको निवासमा पनि ठूलो संख्यामा प्रहरी पुगेको छ ।

नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी तीनै तहका सुरक्षाकर्मीहरू सो क्षेत्रमा खटिएका छन् ।

उता, पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको निवासमा पनि बाक्लो संख्यामा प्रहरी पुगेको छ । एमाले नेतृ रामकुमारी झांक्रीका अनुसार, प्रहरीहरू कागजातसहित गुण्डु पुगेका हुन् ।

यद्यपि ओली राति २ बजेमात्रै सुतेका कारण केहीबेर आराम गर्न दिइएको उनले बताइन् ।

उता, लेखकलाई पनि आजै नियन्त्रणमा लिने तयारी सरकारले गरेको हो ।

नयाँ सरकार बनेलगत्तै बसेको मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

लगत्तै गृहमन्त्री सुधन गुरुङले रातभर सुरक्षा निकायका प्रमुखसँग तारन्तार छलफल गरिरहेका थिए ।

प्रहरीले सरकारसँग आधिकारिक रुपमा लिखित आदेश माग गरेको थियो ।मध्यराति कानुन मन्त्रालयका सचिवसमेतलाई नक्सालस्थित हेडक्वार्टर झिकाइएको थियो ।

गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले अध्ययन गरेर सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई प्रतिवेदन बुझाएको थियो

।उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय निवर्तमान प्रधानमन्त्री कार्कीले गरेकी थिइन् । यद्यपि सरकारले उक्त प्रतिवेदन भने आधिकारिक रुपमा सार्वजनिक गरेको छैन । तर, उक्त प्रतिवेदनको अंश भने सञ्चारमाध्यममा सार्वजनिक भइसकेको छ ।

प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरिएको थियो ।

शुक्रबार बसेको नयाँ सरकारको पहिलो बैठकले आयोगको सिफारिस तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।सोही निर्णय लगत्तै गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए ।

मध्यरातसम्म भएको छलफलपछि सहमति नभएपछि कानुनसचिव पाराश्वर ढुंगानालाई पनि प्रहरी हेडक्वार्टर बोलाइएको थियो ।उनी हेडक्वार्टरबाट निस्किएर लिखित आदेश तयार पारे ।

त्यसपछि प्रहरीले जरुरी पक्राउ पुर्जी जारी गरेर ओलीलाई नियन्त्रणमा लिएको हो । मुलुकी फौजदारी संहिताको मुलुकी फौजदारी संहिताको दफा १८१ र दफा १८२ अनुसार कारबाही सिफारिस भएको थियो ।

उक्त दफामा लापरबाहीपूर्ण र हेलचेर्क्याइँ गरेर ज्यान लिएको कसुर अन्तर्गत कारबाही हुने उल्लेख छ । आयोगले ती दुवै दफा उल्लेख गरी कारबाहीका लागि सिफारिस गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *