सर्लाही, १५ चैत । पार्टीका अध्यक्ष केपी शर्मा ओली पक्राउको विरोधमा आज (आइतबार) नेकपा (एमालेल)ले सीडीओ कार्यालयहरूमा विरोधपत्र बुझाउने भएको छ ।
आज देशभरिका प्रमुख जिल्ला अधिकारी (सीडीओ)को कार्यालयमा ओली पक्राउको विरोधपत्र बुझाउने शनिबार बसेको केन्द्रीय सचिवालय बैठकले निर्णय गरेको थियो । सोही निर्णयअनुसार आज विरोधपत्र बुझाउने एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए ।
साथै, ओली पक्राउको प्रतिकारस्वरूप आज जिल्ला–जिल्लामा व्यापक विरोध प्रदर्शन गर्ने एमाले नेताहरूले जानकारी दिएका छन् ।
जेन–जी घटनासम्बन्धी जाँचबुझ आयोगको सिफारिसअनुसार प्रहरीले मन्त्रिपरिषद्को निर्णयमा तत्कालीन प्रधानमन्त्रीसमेत रहेका ओली र नेपाली कांग्रेसका नेता एवं तत्कालीन गृहमन्त्री रमेश लेखककलाई शनिबार बिहान पक्राउ गरेको थियो ।
यद्यपि, एमालेले भने आयोगको अनुसन्धान र सिफारिस नै निष्पक्ष नभएको भन्दै प्रतिवेदन खारेजको माग राखेको छ ।
यसैबीच, एमाले आजै गौरीबहादुर कार्की आयोगको खारेज र अर्को छानबिन समितिको मागसहित सर्वाेच्च आदालत जाने तयारी गरेको छ । शनिबार बसेको सचिवालय बैठकले यसको संयोजन गर्ने जिम्मेवारी नेता गोकर्ण विष्टलाई दिएको छ ।
