सर्लाही,चैत्र १९ । सङ्घीय संसद्को माथिल्लो सदन राष्ट्रियसभा सत्तापक्ष विहीन भएको छ । भदौमा भएको जेनजी आन्दोलनसँगै तल्लो सदन प्रतिनिधिसभा विघटन भएको थियो । फागुन २१ मा सम्पन्न निर्वाचनमा नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइ नजिक बहुमत ल्याएर वरिष्ठ नेता बालेन शाहको नेतृत्वमा सरकार गठन भइसकेको छ ।
प्रतिनिधिसभाको पहिलो बैठक दिउँसो २ बजे सिंहदरबार स्थित निर्माणाधीन संसद्को अस्थायी हलमा बस्दैछ । स्थायी सदन मानिने राष्ट्रियसभामा पुराना दल नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट लगायतको उपस्थित रहेको छ । रास्वपाको एक सिट पनि छैन ।सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले रिक्त रहेको एक सिटमा निवर्तमान गृहमन्त्री ओमप्रकाश अर्याललाई सिफारिस गरेको थियो । तर राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसलाई होल्ड गरेका थिए ।
