सर्लाही,चैत्र १९ । एमाले सांसद नीता घतानीले संसदीय दलको नेता चयनको विषयलाई लिएर पार्टी नेतृत्वप्रति आक्रमण हुनु असह्य भएको बताएकी छिन् । बुधबार च्यासलमा बसेको संसदीय दलको बैठकले दलको नेतामा सांसद रामबहादुर थापा बादललाई चयन गरेको थियो । अर्का सांसद सुहाङ नेम्वाङ आकांक्षी रहे पनि उनले प्रस्तावक र समर्थक पाएका थिएनन् । बादललाई नै सर्वसम्मत रूपमा दलको नेता चयन गरेपछि एमालेभित्र र बाहिर पार्टी नेतृत्वको चौतर्फी आलोचना भएको छ ।

आलोचनाको मुख्य तारोमा २५ सांसदहरू छन् । तिनै मध्येकी एक घतानीले सर्वसम्मत रूपमा नेता चयन गरिएको भन्दै पार्टीलाई क्षति पुग्ने हिसाबले गाली आउनु उचित नभएको टिप्पणी गरिन् । शिलापत्रसँग कुरा गर्दै उनले पार्टीले उचित ठहर्‍याएर नै उपाध्यक्ष थापालाई नेतामा चयन गरिएको तर्क गरिन् ।

‘नेकपा एमालेको नेतृत्वमाथि चौतर्फी प्रहार भइरहेको छ । पार्टीभित्र र बाहिरबाट सिङ्गो एमालेलाई कसरी कमजोर बनाउने रणनीतिमा रहेको बुझिन्छ,’ उनले भनिन्, ‘एमालेलाई बलियो बनाउनुपर्ने बेलामा अरुको मुद्दा बोकेर हिँड्ने छुट कसैलाई छैन । हामी एक ढिक्का भएको एमाले चाहन्छौँ ।’

घतानीले आफूजस्ता युवा पङ्क्ति अझै पनि एमालेको संसदीय मोर्चामा रहेको भन्दै हिजोदेखि विद्यार्थी राजनीतिबाट योगदान गर्दै यहाँसम्म आएको तर्क गरिन् । घतानीले आफूजस्तो युवा पङ्क्तिले पार्टीभित्र गरेको योगदानको अवमूल्यन गर्दै दललाई कमजोर बनाउने षड्यन्त्रका विरुद्ध डटेर लाग्नुपर्ने धारणा राखिन् । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *