सर्लाही,चैत्र २० । नेपाल आयल निगमले पछिल्लोपटक मूल्यवृद्धि गरेको एकसाता नबित्दै पेट्रोलियम पदार्थमा फेरि चर्को मूल्य वृद्धि गरेको छ। 

सरकारले बिहीबार राति गरेको मूल्य वृद्धिअनुसार आजदेखि काठमाडौँमा पेट्रोलको भाउ प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य १८२ रुपैयाँ पुगेको छ। 

सरकारले यसअघि यही चैत १२ गते र चैत १ गते पनि पेट्रोलिम पदार्थको मूल्यवृद्धि गरेको थियो। 

पछिल्लोपटक मूल्य वृद्धि गरेको ८ दिन नबित्दै निगमले फेरि डिजेल-मट्टितेल र पेट्रोलको मूल्यमा प्रतिलिटर १५ रुपैयाँका दरले वृद्धि गरेको हो। 

यससँगै निगमले २० दिनमा पेट्रोलको मूल्य लिटरमा ४५ रुपैयाँ वृद्धि गरिसकेको छ। 

भारतीय आयल कर्पोरेशनले पठाउने सूचीअनुसार यसअघि निगमले हरेक महिनाको १ र १६ तारिकमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको थियो।
 
भारतले सूची नपठाउँदै मूल्य वृद्धि गर्नुको कारण निगमले मध्यपूर्वमा जारी युद्धलाई देखाएको छ। 

‘विगत महिनादेखि मध्यपूर्वमा जारी युद्धको कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्यवृद्धि भइरहेको छ,’ निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युद्धको कारण पेट्रोलियम पदार्थको अन्तर्राष्ट्रिय बजार मूल्य वृद्धि भइ इन्डियन आयल कर्पोरेशनबाट प्राप्त मूल्यअनुसार स्वचालित मूल्य प्रणाली बमोजिम मूल्य समायोजन हुन सकेको छैन।’

मार्च १६ देखि ३१ मा इन्डियन आयल कर्पोरेशनबाट प्राप्त खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा ४७.१२, डिजेलमा प्रतिलिटर रु १३३.४५ तथा एलपी ग्यासमा ४२६.३७ रुपैयाँ प्रतिसिलिण्डर घाटा रहेको निगमले जनाएको छ। 

‘यसरी अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजना हुन नसक्दा पाक्षिक रुपमा निगमलाई १३ अर्ब २१ करोड रुपैयाँ घाटा हुन जान्छ,’ निगमको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको निरन्तर मूल्य वृद्धि भइरहँदा र सोही अनुसार मूल्य समायोजन हुन नसक्दा घाटा रकममा उल्लेख्य बृद्धि भई इण्डियन आयल कर्पोरेशनलाई भुक्तानी दिन नसकिने अवस्था सिर्जना हुने देखिएको छ।’

निगमले इण्डियन आयल कर्पोरेशनबाट हालसम्म माग बमोजिमको परिणाममा पेट्रोलियम पदार्थको आपूर्ति भइरहेता पनि तोकिएको समयमै भुक्तानी दिन नसक्दा आपूर्ति श्रृंखला प्रभावित हुने दाबी गरेको छ। 

‘यस अवस्थामा उपभोक्ताको हितलाई मध्यनजर गर्दै र निगमसँग रहेको मूल्य स्थिरिकरण कोषकोसमेत उपयोग गर्नेगरि निगम सञ्चालक समितिको निर्णयअनुसार लागू हुनेगरि हाललाई पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाइएको छ,’ निगमले भनेको छ। 

पछिल्लो मूल्य वृद्धि गर्दा पनि अझै पेट्रोलमा प्रतिलिटर ३४.३६ रुपैयाँ, डिजेलमा १२०.५४ रुपैयाँ र एलपी ग्याँसमा प्रतिसिलिण्डर ४१६ रुपैयाँ ३७ पैसा घाटा रहेको निगमको दाबी छ। 

‘यो मूल्य समायोजनपछि पनि निगमलाई पाक्षिक रुपमा ११ अर्ब ७१ करोड रुपैयाँ घाटा हुने देखिन्छ,’ निगमको विज्ञप्तिमा भनिएको छ, ‘अन्तर्राष्ट्रिय बजारमा भएको आकस्मिक मूल्य वृद्धिको कारण उत्पन्न भएको विषम परिस्थितिप्रति नेपाल आयल निगम सबै उपभोक्तासँग सहयोगको लागि आह्वान गर्दै पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययीता अपनाइदिनु हुन अनुरोध गर्दछ।’

हेर्नुहोस् विज्ञप्ति 

Leave a Reply

Your email address will not be published. Required fields are marked *