सर्लाही, २१ चैत । जिल्ला प्रशासन कार्यालय सर्लाहीले तीव्र हावाहुरीको जोखिम बढेको भन्दै सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभाग को पूर्वानुमानअनुसार सर्लाही, रौतहट र महोत्तरी लगायत आसपासका क्षेत्रमा ४०–५० किलोमिटर प्रतिघण्टाको वेगमा हावाहुरी चल्ने सम्भावना रहेको प्रशासनले जनाएको छ ।
प्रशासनद्वारा जारी सूचनामा हावाहुरीका कारण रुख ढल्ने, कमजोर संरचना तथा घरका छाना उड्ने, साथै विद्युत् तथा सञ्चार सेवा प्रभावित हुन सक्ने जोखिम औंल्याइएको छ । यस्तो अवस्थामा अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन र सुरक्षित स्थानमा बस्न सर्वसाधारणलाई अनुरोध गरिएको छ ।
साथै, सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित निकायलाई आवश्यक तयारी अवस्थामा रहन निर्देशन दिइएको प्रशासनले जनाएको छ ।

