सर्लाही,चैत्र २३ । संघीय संसदअन्तर्गतका दुवै सदनका बैठक बस्दैछन्। प्रतिनिधिसभा बैठक सोमबार दिउँसो १ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १२ बजे बस्दैछ। प्रतिनिधिसभा बैठकमा तीनवटा अध्यादेश स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुने कार्यसूची छ। संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयका अनुसार बैठकमा मतदाता नामावली (पहिलो संशोधन ) अध्यादेश -२०८२,प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश -२०८२ र नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश -२०८२ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पेश हुने सम्भावित कार्यसूची छ।
यसैगरी राष्ट्रिय सभा बैठक दिउँसो १२: १५ बजे बस्दैछ। बैठकमा सांसद प्रेम प्रसाद दंगालले लिला कुमारी भण्डारीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्ने कार्यसूची छ। राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालले लिला कुमारी भण्डारी राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन्। यसैगरी बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले राष्ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८०/०८१ को चौबिसौं वार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्ने कार्यसूची छ।
