सर्लाही, २३ चैत्र । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ सुरू भएको छ । न्यायाधीश विनोद शर्मा र सुनिल कुमार पोखरेलको इजलासमा सुनुवाइ जारी छ ।

यसअघि आइतबार रिटमाथि बहस नसकिएपछि सोही इजलासमा हेर्दाहेर्दैमा राखिएको थियो । आइतबार ओली र लेखकको तर्फबाट कानुन व्यवसायीहरूको बहस सकिएको र आज महान्यायाधिवक्ता कार्यालयका तर्फबाट सरकारी वकिलले बहस गर्नेछन् । दुवै तर्फको बहस सकिए आजै हिरासत मुक्त गर्ने कि हिरासतमै राख्ने आदेश आउने सम्भावना छ ।

ओली र लेखक दुवैका तर्फबाट पेस गरिएको बन्दी प्रत्यक्षीकरणको रिट निवेदन चैत १५ गते दर्ता गरिएको थियो । गैरकानुनी ढंगले पक्राउ गरेको दाबी गर्दै ओलीका तर्फबाट श्रीमती राधिका शाक्य र लेखकको तर्फबाट श्रीमती यशोदा लेखकले छुट्टाछुट्टै बन्दी प्रत्यक्षीकरण रिट निवेदन पेस गरेका हुन् । 

जेनजी आन्दोलनका घटनासम्बन्धी गठित जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनका लागि भन्दै ओली र लेखकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका ओली स्वास्थ्य उपचारका लागि अस्पतालमा छन् भने लेखक प्रहरी हिरासतमा छन् । 

गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई दोषी ठहर गर्दै कारवाहीका लागि सिफारिस गरेको छ । आयोगले उनीहरूविरुद्ध फौजदारी अभियोगमा अनुसन्धान गर्न सिफारिस गरेको छ ।

सरकारले भदौ २३ र २४ को घटनासम्बन्धी अनुसन्धान गर्न प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *