सर्लाही,२४ चैत्र । अकुत सम्पत्ति लुकाउन लेखा अधिकृतले ऋण लिएको नक्कली कागजात बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनमा देखिएको छ ।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका तत्कालीन लेखा अधिकृत झलक शर्मा पौडेलले अकुत सम्पत्तिलाई वैध बनाउने प्रयास गरेको भन्दै उनीविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको हो । नक्कली कागजपत्रसमेत खडा गरी उनले दुई करोड ५८ लाख ६७ हजार ३२४ रुपैयाँ शुद्धीकरणको प्रयास गरिएको दाबी गरी आयोगले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
अख्तियारले श्रीमती हुमाकुमारी उपाध्यायसहित जमुना कुमारी रोका क्षेत्री, हरिप्रसाद पौडेल र शान्ति दराई पौडेललाई समेत आयोगको प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ । उनीहरूसँग कारोबार नै नभए पनि ऋण दिएको भनेर कागज बनाई स्रोत नखुलेको सम्पत्तिलाई पुष्टि गर्ने प्रयास भएको थियो । अधिकृत पौडेलको ६ करोड २६ लाख ९३ लाख बिगो कायम गरी गत असारमा आयोगले मुद्दा दायर गरिसकेको छ । लामो समय लेखामा बसेर उनले करोडौँको अवैध सम्पत्ति आर्जन गरेको उजुरीका आधारमा आयोगले छानबिन थालेको थियो ।
अख्तियारले सोमबार एकै दिन दुई इन्जिनियरलाई घुससहित पक्राउ गरेको छ । सघन सहरी तथा भवन निर्माण आयोजना धनकुटाका इन्जिनियर सुमन राई र नेपाल विद्युत् प्राधिकरण कञ्चनपुर वितरण केन्द्र सप्तरीका प्रमुख (इन्जिनियर) महेन्द्रकुमार दास घुससहित पक्राउ परेका हुन् ।
